नयाँ आप्रवासन नीतिले अस्ट्रेलियामा नेपालीहरू ‘चिन्तित’
प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

अस्ट्रेलियाले आप्रवासनसम्बन्धी आफ्ना नीतिमा केही कडाइ गर्ने घोषणा गरेपछि अध्ययन र कामका लागि त्यहाँ गएका नेपालीहरूबीच चिन्ता बढ्न थालेको छ।
अधिकांश नेपाली अस्ट्रेलियामा स्थायी बसोबास गर्ने उद्देश्यले जाने गरेकाले धेरैलाई नयाँ अप्रवासन नीतिले समस्यामा पार्न सक्ने चिन्ता बढेको हो।
अस्ट्रेलियामा बसोबास गरिरहेकाहरूका अनुसार पछिल्लो नीतिगत परिवर्तनपछि धेरै नेपाली विद्यार्थी आफ्नो भविष्यलाई लिएर चिन्तित बन्ने गरेको देखिएको छ।
पश्चिमी अस्ट्रेलियाको पर्थस्थित वेस्टर्न अस्ट्रेलिया नेपाली सोसाइटीका अध्यक्ष मणि पनेरू भन्छन्, “अहिलेका नयाँ नियमले नेपाली विद्यार्थीलाई निकै असर पर्ने देखिन्छ। चीन र भारतपछि सबैभन्दा धेरै विद्यार्थी आउने मुलुकमा नेपाल भएकोले पनि त्यसको असर हजारौँ नेपालीलाई पर्नु स्वाभाविक हो।”
परिवर्तन
अस्ट्रेलिया सरकारले गत महिना आफ्नो अध्यागमन तथा आप्रवासन नीतिमा केही परिवर्तन गरेको घोषणा गरेको थियो। उक्त घोषणा अनुसार हरेक वर्ष अस्ट्रेलिया भित्रिने आप्रवासीको सङ्ख्यालाई केही घटाइएको छ।
नयाँ नीति अनुसार आगामी चार वर्षका लागि वार्षिक रूपमा अस्ट्रेलिया भित्रिने आप्रवासीको सङ्ख्यालाई १ लाख ६० हजारमा सीमित गरिनेछ। यस्तो सङ्ख्या हाल वार्षिक १ लाख ९० हजार रहेको थियो।
त्यस्तै दक्षता भएका कामदारहरूले पनि त्यहाँ स्थायी बसोबासका लागि अस्ट्रेलियाका ग्रामिण क्षेत्रमा तीन वर्ष बस्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। पहिले दुई वर्षमात्र बसोबास गर्दा पनि स्थायी बसोबासका लागि आवेदन दिन पाइन्थ्यो। बिबिसि नेपाली सेवाबाट