नेपालले ओमानलाई १५० रनले हरायो तर विश्वकप छनौट हुन कठिन
प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

आईसीसी यू–१९ विश्वकप छनौट अन्तर्गत खेलमा नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको ओमानले ७९ रन बनाउँदै अलआउट भएको हो ।
नेपालका लागि पवन सर्ाफले ३, प्रतिस जिसी र सूर्य तामाङले २–२ तथा कुशल मल्ल, भीम सार्की र कमल सिंह ऐरीले १–१ विकेट लिए । ओमानका लागि जील तन्ना र अमनप्रित सिराहले १३–१३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसाघि पहिलो इनिङमा १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक ब्याटिङ गरेपछि नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो ।
आजको खेलमा नेपालको सुरुवात सन्तोषजनक हुन सकेको थिएन । नेपालले २० ओभरको खेल हुँदा ८१ रनको स्कोरमा पाँचौं विकेट गुमाइसकेको थियो । तर, त्यसपछि रोहितकुमार पौडेल र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाले । छैटौं विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल आट हुँदा नेपालको स्कोर १७३ रन पुगिसकेको थियो ।
कप्तान पौडेल आउट भएपछि भने नेपालको इनिङ फेरि धर्मरायो । त्यसपछि लगातार विकेट जाँदा १७८ रनको स्कोरमा नेपालले ९ विकेट गुमाइसकेको थियो । नेपालका लागि १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक इनिङ खेल्दै २३ बलमा ४१ रन बनाएपछि नेपालको स्कोर २२९ रन पुगेको हो ।
नेपालको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रन बनाए । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै २३ बलमै ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरे । २ चौका र १ छक्का हानेका भीम सार्कीले ४३ बलमा ३९ र बनाए । कप्ता रोहित कुमार पौडेल म्यान अफ द म्याच घोषित भए ।
ओमानमाथि जित हासिल गरे पनि विश्वकपमा छनोट हुनका लागि भने नेपाललाई कठीन नै देखिएको छ । आजै भएको अर्काे खेलमा युएईले सिंगापुरलाई ९ विकेटले हराउँदै जित यात्रालाई यथावत राखेको छ । बिहीबार हुने अन्तिम खेलमा नेपालले कुबेतलाई हराउनुका साथै ओमानले युएईलाई हराएमा मात्रै नेपालको सम्भावना रहने छ ।