भिसाका कारण अमेरिकामा नेपाल आईडलका सबै कार्यक्रम स्थगित, स्थानीय कलाकारले गाउने
प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

अमेरिकामा नेपाल आइडल सिजन २ का बिजेताको प्रस्तुती रहने सांगितिक कार्यक्रम स्थगित भएको छ । न्यूयोर्कमा शनिवार आयोजना हुने भनिएको कार्यक्रम आइडलका बिजेताले अमेरिकी भिषा नपाएका कारण अर्को मितिमा गरिने आयोजकले जानकारी दिएका छन् ।
आयोजक केटिएम इन्टरटेनमेन्टकी डेकिनी डेलाइलाले अमेरिकी दुतावासमा भिषा प्रकृयाका लागि समय अवधि अपुग भएर आइडलका बिजेताले भिषा नपाएका कारण स्थागित गरिएको र अर्को मितिमा सोही प्रकृतिको कार्यक्रम गरिने जानकारी दिएकी छन् । युएससीआईएसमा पी थ्री आवेदन पेन्डिंग रहेका कारण कलाकारहरूले भिसा पाउन नसकेको जनाईएको छ ।
आयोजक संस्थाले यस कार्यक्रमका लागि खरिद गरेका सबै व्यक्तिको टिकट शुल्क फिर्ता गर्ने भएको छ । अनलाइनबाट टिकट खरिद गरेकाहरुलाई सोही प्रकृयामा फिर्ता गरिने र व्यक्तिगत टिकट खरिद गरेकाहरुलाई व्यक्तिगत सम्पर्कका आधारमा रकम फिर्ता गर्ने जानकारी दिइएको छ ।
आयोजक संस्थाले नेपाल आइडल कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा लगायत स्थानिय कलाकारहरु समावेश गरेर ‘नयाँ बर्ष बिक्रम सम्बत् २०७६ साँझ’ गर्दैछ । यस सांगितिक साँझमा सहभागि हुन आग्रह गरिएको छ । यस कार्यक्रममा नेपाल आइडलका लागि खरिद गरेका टिकट फिर्ता गर्न सक्ने र नेपाल आइडलको टिकट फिर्ता गर्नेहरुले निशुल्क मनोरञ्जन लिन सक्ने जनाइएको छ ।
आयोजक संस्थाले कार्यक्रम स्थागित भएको सबैसंग क्षमायाचना गर्दै अर्को कार्यक्रम भव्य रुपमा गर्ने सामाजिक सञ्जालबाट घोषणा गरेको छ । कार्यक्रम स्थागित भएपछि आयोजकले रकम फिर्ता गरेर इमान्दारिता देखाएका छन् ।
कसरी पाउँछन कलाकारले पि ३ भिषा
कलाकार, खेलाडी लगायतलाई अमेरिकी सरकारले पि ३ भिषा जारी गर्ने गर्दछ । कलाकारहरु अमेरिकामा नाफा मुलक कार्यक्रममा सहभागि हुँदा यहाँका आयोजक संस्थाले यूएससिआईएसमा निवेदन दिनुपर्ने हुन्छ, त्यो निवदेन सम्वन्धीत निकायबाट स्विकृत भएपछी मात्रै कलाकार, खेलाडीहरु दूतावासमा भिषाका लागि जान सक्छन् ।
अमेरिकामा ग्रिन कार्ड होल्डरले श्रीमान, श्रीमतिका लागि भिषा मागे जस्तै गरी यो पि ३ भिषा स्विकृत हुनुपर्दछ । अहिले अमेरिकी सरकारले पि ३ भिषाका लागि केही नियमहरु समेत परिर्वतन गरेको यस अगाडिनै जानकारी दिइ सकेको छ ।