यी हुन २०७५ सालमा गुमाएका विशिष्ट व्यक्ति
प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

विसं २०७५ सालमा नेपालका केही विशिष्ट व्यक्तिको निधन भयो । पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, बहालवाला मन्त्री, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमी, पर्यटन व्यसायीलाई यस वर्ष मुलुकले गुमाएको छ । विशिष्ट व्यक्तित्वको निधनले मुलुकलाई अपूरणीय क्षति पु¥याएको छ ।
फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भयो । एअर डाइनेस्टीको एएस ३५० हेलिकप्टर फागनु १५ गते ताप्लेजुङमा दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भयो ।
दुर्घटनामा नेपाली राजनीतिमा उदाउदा मन्त्री अधिकारीसहित पर्यटन व्यावसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछी भोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीले अनाहकमै ज्यान गुमाए । उक्त दुर्घटनाबारे अझै पनि छानविन भैरहेको छ ।

रवीन्द्र अधिकारीको निधन भएको तीन दिनपछि नेकपाकै वरिष्ठ नेता एवं पूर्व भरतमोहन अधिकारीको पनि निधन भयो । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा निधन भयो । माघ २४ गतेदेखि अस्पतालमा मृत्युसंग संघर्ष गरिरहेका अधिकारीको अन्ततः मत्युसंग हार भयो ।

कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । विसं २०३२ सालमा प्रधानमन्त्री बनेका गिरी विसं २०१९ मा मन्त्रिपरिषद् अध्यक्ष भएका थिए ।
पञ्चायती व्यवस्थाका सूत्रधार मानिने गिरी विसं २०१५ सालका वीपी कोईराला जननिर्वाचित प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री थिए । मङ्सिरमा पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको उच्च उक्तचाप र निमोनियाका कारण निधन भयो । गिरि २०६४ सालमा प्रधान न्यायाधीश बनेका थिए । संसदीय सुनुवाइको सामना गर्ने पहिलो प्रधान न्यायाधीश गिरी नै थिए ।

विस २०७५मा नेपाली काँग्रेसले पनि आफ्ना वरिष्ठ नेता गुमायो । करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहनुभएका काँग्रेस नेता चक्रप्रसाद बांस्तोलाको गत असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो ।
विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेका थिए । यसैवर्षको कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्क घातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उनको महत्वपूर्ण योगदान छ ।