शरणार्थी आवेदन दिनेमा नेपाली पहिलो
प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

अध्यागमन विभाग जापानमा यस वर्ष शरणार्थी आवेदन दिनेमा नेपालीको संख्या सबैभन्दा धेरै रहेको त्यहाँको कानुन तथा न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस वर्ष १० हजार ४ सय ९३ जनाले शरणार्थीको आवेदन दिएका छन् ।
यो संख्या विगत ८ वर्षयताको सबैभन्दा कम हो । जापान अध्यागमन अधिकारीले शरणार्थी आवेदन दिनेहरुको यो संख्या ८ वर्ष यताकै न्युन भएको जनाएको छ ।न्याय मन्त्रालयले शरणार्थी आवेदकको संख्या घटे पनि आवेदक दिनेमा यो वर्ष नेपालीहरुको संख्या बढी जनाएको छ । आवेदन दिइएका मध्ये ४२ जनाले मात्र शरणार्थी मान्यता पाएका छन् ।
आवेदकमध्ये भाषा विद्यालयका विद्यार्थी सहित ट्रेनिङग भिषामा जापान प्रवेश गरेकाहरुको बाहुल्यता रहेको पाईएको छ । अघिल्लो बर्ष २८ जनालाई मान्यता दिएकोमा यसवर्ष ४२ जनालाई मान्यता दिएको जापानी संचार माध्यामहरुले जनाएका छन् ।
आवेदन दिनेहरुमध्ये सबै भन्दा धेरै आवेदन दिनेमा नेपाल पहिलोमा पर्दछ । त्यस्तै श्रीलंका दोस्रोमा छ भने कम्बोडिया तेस्रोमा, फिलिपिन्स चौथों र पाकिस्तान पाँचौं स्थानमा रहेको छ । यस आवेदन दिनेहरुले आवेदन दिएको छ महिनासम्म काम गर्न पाउने छन् । आवेदनको निर्णय नभएसम्म उनीहरु कानुनी रुपमा काम गर्न योग्य हुनेछन् ।
गत वर्ष १६ हजार २६९ जनालाई जापानले डिपोर्ट गरी उनीहरुलाई आफ्नो देश पठाएको जापानी न्याय मन्त्रलायले जनाएको छ । जापानमा अहिलेसम्म सबै भन्दा धेरै सन् २०१७ मा १९ हजार ६२९ जनाले शरणार्थी मान्यताको लागि आवेदन दिएका थिए ।