श्रम मन्त्रालयमा कल सेन्टर सुरु : देश र विदेशका लागि छुट्टाछुट्टैै नम्बर
प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार

कल सेन्टरमा समस्या र गुनासा सुन्न देशभित्र र बाहिरका लागि छुट्टाछुट्टै नम्बरको व्यवस्था गरिएको छ । देशमा भएकाहरुले ११४१ र १६६००१५०००५ नम्बरमा फोन गर्न सकिनेछन् ।
वैदेशिक रोजगारीका लागि जानुअघि देशभित्रै ठगीमा पर्दा वा विदेशमा पुगिसकेपछि भनेको काम र तलब नपाएर समस्यामा पर्दा कल सेन्टरमा फोन गरेर सहयोग माग्न सकिने छ ।
सेवाग्राहीको गुनासो तत्काल प्राप्त गर्न र उनीहरुको गुनासोलाई तत्काल सम्बोधन गर्ने गरी काम अघि बढाउन मन्त्री विष्टले दिएको निर्देशनअनुसार मन्त्रालयभित्रै कल सेन्टर स्थापना गरिएको हो ।
गुनासा र समस्या सुनेर तत्काल समाधान गरिने छ। मन्त्रालयले यसअघि पनि वैदेशिक रोजगार विभाग र मन्त्रालयमा नै ‘हेल्प डेस्क’ सञ्चालन गरेको थियो । तर त्यो प्रभावकारी हुन नसकेपछि कल सेन्टर सुरु गरिएको हो ।
अहिलेलाई नेपाल टेलिकमको मोबाइलबाट यी नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन । केही समयपछि एनसेलका प्रयागकर्तालाई समेत निःशुल्क हुनेगरी व्यवस्था मिलाउने बोर्डको तयारी छ । विदेशमा हुनेहरुले भनेर ९७७ – १–५९७०००८ मार्फत फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् ।
सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने
कल सेन्टरमा फोनसँगै सामाजिक सञ्जालबाट पनि गुनासा र समस्या टिपाउन सकिने गरी व्यवस्था मिलाइएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।
फेसबुक, इमो, भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालबाट पनि गुनासो गर्न सकिने गरी कलसेन्टरको स्थापना गर्न लागिएको छ । ९७७ – १–५९७०००८ नम्बरमार्फत भाइवर, इमो म्यासेन्जरमार्फत आफ्नो गुनासो सुझाव र जानकारी लिन सकिने छ ।
त्यसका लागि मन्त्रालयको फेसबुक पेज https://www.facebook.com/molcallcenter/गुनासो तथा समस्या राख्न सकिने छ । कलसेन्टरमा फोन गरेर कुनै जानकारी लिन चाहेका तत्काल जानकारी लिन सकिने र गुनासो र सुझाव भएमा पनि सम्बन्धित निकायलाई तत्काल त्यसको सम्बोधन गर्नका लागि उत्तरदायी बनाउन कल सेन्टरले सहयोग गर्ने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।