कालिमाटि टेकु पुल : चार वर्ष लगाएर बनेको पुल भत्काउने तयारी
प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारको लापरबाही र जबर्जस्तीका कारण टेकु र तिनकुनेको पुलमा समस्या देखिएको बताएका छन् । मंगलबार संघीय संसद्को विकास तथा प्रविधि समितिमा जवाफ दिँदै मन्त्री महासेठले पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको दुवै पुलमा सरकारी प्राविधिकलाई छलेर गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको बताए ।
सुरुमै गुणस्तरहीन सामान प्रयोग गरेको र रोक्न निर्देशन दिँदादिँदै प्राविधिकको उपस्थितिविना नै टेकु–कालिमाटी पुल ठेकेदारले राति ढलान गरेको मन्त्रीको भनाइ छ ।
‘कागजपत्र अध्ययन गर्दा प्राविधिकले टेकु पुल निर्माण रोक्न निर्देशन दिँदासमेत ठेकेदारले काम अघि बढाइेको भेटिएको छ,’ महासेठले भने, ‘राति काम गर्नु अन्यथा नभए पनि प्राविधिकको उपस्थितिविना काम हुनु गलत हो ।’
त्यस्तै, तिनकुने पुलमा स्ट्रक्चर उठाउन आवश्यक गहिराइमा नपु¥याई निर्माणको काम अघि बढाइेको भेटिएकाले तत्कालका लागि काम रोकिएको मन्त्रीले बताए । दुवै पुल निर्माणमा प्राविधिकको भने कुनै गल्ती नभेटिएको मन्त्रीको दाबी छ ।
अब बिग्रिएको पुल भत्काएर सरकारी लगानी नपर्ने गरी पप्पुलाई नै निर्माण गर्न लगाउने उनले बताए । पुलमा देखिएका कमजोरीबारे इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट अध्ययनसमेत भैरहेको छ । नयापत्रिका दैनिक