‘पण्डित हरिप्रसाद बाजे’ खौलामा पर्दा ‘उडे दमै’ले बचाएपछि

– लोक तिवारी

कुरा तीनताकाको हो । जुनबेला हाम्रा गाउँमा मोटरगाडी हुँदैनथ्यो । मोटरगाडी देख्नका लागि लाहुरे हुनुपथ्र्यो । हाम्रो गाउँ स्यांजा जिल्लाको वालिंग । नुनतेलको लागि बटौली (अहिलेको वुटवल) सुकिइन पथ्र्यो । बर्षमा दुईपटक सातदिन लगाएर बटौली जाने, ६ महिनालाई पुग्नेगरी नुन र मट्टीतेल ढाकरमा बोकेर ल्याउनुपर्ने । मान्छेहरु हुलका हुल बाँधेर बटौली जान्थे । सबैले ढाकर बोक्ने, आफूलाई चाहिने सामल पनि त्यही ढाकरमा राखेर बोक्ने, अनि जहाँनेर भोक लाग्छ, त्यही चुलोचम्को बनाई मिठो पिठो जे छ पकाई खाने । खासगरी चामलको भात, चौलानीको तरकारी ।

त्यसरी ढाकर बोकेर नुनतेल लिन जानेलाई ढाक्रे भनिन्थ्यो । नुनतेल किन्न जाँदा किसानहरुले आफूले उत्पादन गरेका अदुवा, त्यसबाट बनाइएको सुठो, बेसार, अलैची, सुकमेल, टिमुर, जिम्मु, घिउ आदि इत्यादी सामान लगेर बटौलीमा बेच्ने त्यही पैसामा अरु पैसा थपीवरी नुन र मट्टीतेल किन्ने चलन थियो । बटौली पश्चिम क्षेत्रको ब्यापारिक केन्द्र नै थियो । हाम्रो गाउँमा छेउडाडाका बिष्णुबहादुर दर्जी थिए । तर सबैले उडे दमाई भन्थे । अरुलाई सातदिन लाग्ने बटौलीको यात्रा उनले तीनदिनमै सक्थे । छिटो छिटो हिड्ने भएकाले उनलाई उडे भन्थे । खासगरी यस्ता नाम कथित तल्लो जातकालाई हेपेर दिने चलन थियो ।

एकपटकको कुरा हो । हाम्रा गाउँका तत्कालिन सम्भ्रान्त मानिने पण्डित हरिप्रसाद अज्र्याल नुनतेल लिन बटौली गएका रहेछन् । उनी घरमा हुनेखाने भएको हुँदा आफ्नो भारी बोक्न टेकबहादुर जीटीलाई भरियाका रुपमा लगेका रहेछन् । तैपनि अर्काले पकाएको नखाने स्वयंपाक्य हरिप्रसाद बाजेले आफ्नो सामल आफैले बोकेर हिडेछन् । भारी हलुंगो भएका कारणले र छोइने डरले उनी जहिले पनि अरु भरियाभन्दा केही अगाडि हिड्नुपर्ने । तर पनि उडेदाईलाई भेटाउन भने बाजेलाई हम्मेतम्मे । अगाडि अगाडि उडेदाई, पछाडि पछाडि ढाक्रे, बीचमा सधै हरिप्रसाद बाजे ।

बाजेको ताकचाँही उडेदाईलाई उछिन्ने । सानी उकाली सकेपछि ठुली उकाली तर्ने ठाउँको खोंचमा पर्ने फौदी खोलाको फड्के । फड्केमा राखिएका बाँसमा तीनवटा घनामा तर्नुपर्ने । फौदी खोलाको किनारमा हरिप्रसाद बाजेले उडेदाईलाई उछिनेछन् । बुढा रौशिएर फड्के तर्न खोज्दा फौदीको खोंचमा खौलामा परेछन् । उडेदाईलाई सकस । बुढालाई खौलाबाट कसरी निकाल्ने । छुमभने बुढाका सामल छोइने, नछुमभने हरिप्रसाद बाजेको अपहत्ते । उडेदाईले उठाउने सुरसार नगरेको देखेपछि हरिप्रसाद बाजेले भनेछन् –  ‘ए उडे बजिया । त्यो भारी त्यही राखेर मलाई उठा । म खौलामा परेको देखिनस् ?’

‘बाजे तपाईको सामल छोइने भयो नि त ? के खानुहुन्छ भरे ?’  उडे दाईले जवाफ दिएछन् । बुढाले भनेछन् – ‘गौंडामा परेको गाई, दुखमा परेको भाई र कुनाकी जोईलाई सहयोग गर्दा छोइछिटो लाग्दैन बजिया । गाई र बाहुन एउटै हो । छिटो तान् ।’

बाजे बाहिर आए । साँझ पर्यो । आआफ्नो सामल पकाएर सबैले खाए । कुरा सामसुम भयो ।

तर पछि गाउँमा यो कुराको विषयमा चर्चा हुन थाल्यो । र सबैले थाहा पाए ।

यो घटनाबाट जातीय विभेदलाई कसरी कथित माथिल्लो जातका भनिनेहरुले आफ्नो अनुकुलतमा ब्याख्या गर्दा रहेछन् भन्ने पाठ मैले सिकें । बाल्यकालमा देखेको यस्तो प्रकारको जातीय विभेदका घटना मेरो मस्तिष्कमा अझै ताजै छन् ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

प्रबन्ध निर्देशक : ...
सम्पादक : ...

Contact Us

सूचना विभागमा दर्ता नं. : 2075/..

© 2018 All Right Reserved
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com