भाषाका नाममा ठगी, विद्यार्थी लुटिन्छन् तर अनुगमन निष्प्रभावी


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

जापान, कोरियालगायतका देशमा जान सहजताका लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांश कन्सलटेन्सीले ठगी धन्दा चलाउँदै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन । सरकारले अनुगमन नगर्दा उनीहरूको ठगी धन्दा मौलाउन पुगेको हो । विभिन्न बहानामा कन्सल्टेन्सीले शुल्क लिइरहेका छन् ।

विद्यार्थी मासिक रूपमा १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्न विवश छन् । शुल्कको समेत निश्चित मापदण्ड छैन । विद्यार्थी लीलाधर वलीले भने, ‘मैले पनि पढें तर नाम निस्किएन, एउटा कन्सल्टेन्सीमा जाँदा १० हजार रुपैयाँ, अर्कोमा जाँदा १५ हजार रुपैयाँ, के गर्नु शुल्क नै फरक रहेछ ।’

पर्याप्त भौतिक पूर्वाधारबिना एउटै कक्षा कोठामा सयौं विद्यार्थीलाई राखेर केही कन्सल्टेन्सीले पढाएको समेत भेटिएको छ । केही शैक्षिक कन्सल्टेन्सीले विद्यार्थीलाई विदेश पठाउँदा तालिमप्राप्त शैक्षिक परामर्शदाताको सहयोग नै लिने गरेका छैनन् । कम्तीमा पनि एउटा शैक्षिक कन्सल्टेन्सीमा दुईजना परामर्शदाता राख्नुपर्ने प्रावधान छ ।

कोरिया भाषा उत्तीर्ण गरेपछि केही शैक्षिक कन्सल्टेन्सीले भिसा लागेपछि प्रतिविद्यार्थी एक लाख रुपैयाँसम्म लिने गरेका छन् । कोरियन भाषा अध्ययनका लागि २० हजारदेखि ५० हजार रुपैयाँसम्म मनोमानी ढंगले असुल्दै आएको पीडित विद्यार्थीको गुनासो छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, जापानमा रोजगारीका लागि कामदार पठाउने भन्दै बिचौलियाले बार्गेनिङ गर्न थालेका छन् । जापानले विदेशी कामदार लैजाने देशमा नेपाललाई समेत सूचीकृत गरेपछि जापानिज भाषा पढ्ने युवायुवतीको संख्या ह्वात्तै बढेको छ ।

सरकारीस्तरबाटै नेपाली कामदार जापान पठाउने सार्वजनिक भएसँगै जापानी भाषा अध्ययन गर्न कन्सल्टेन्सी धाउने युवायुवतीको संख्या अत्यधिक बढ्न थालेको छ । जापानमा अप्ठेरो काम हुने भए पनि कमाइ राम्रो हुने भएपछि अहिले शैक्षिक कन्सल्टेन्सीमा विद्यार्थीको संख्या बढेको छ ।

सल्यानका खिमराज डीसीले भने, ‘विभिन्न व्यक्तिले कन्सल्टेन्सीको नाम लिएर सुरुमा जापान जान १२ लाखदेखि १५ लाखसम्म लाग्ने हुँदा ६ देखि ७ लाखमै मिलाइदिन्छु भन्दै आउँछन् ।’

पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने जापान सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालनलगायत छन् । नेपालले नेपाली कामदारलाई रोजगारीका लागि जापान लैजान लबिङ गर्दै आएको थियो ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद मिश्रका अनुसार सरकारले मापदण्ड नपुगेका शैक्षिक परामर्श केन्द्रलाई नियमन गर्ने तयारी थालेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहप्रवक्ता मिश्रले भने, ‘दर्ताबिना कुनै पनि कन्सल्टेन्सी सञ्चालनमा आउन पाउँदैनन् । पूर्वाधार पूरा नगरेको पाइए ती शैक्षिक कन्सल्टेन्सीको अनुगमन गर्छौं ।’

नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले शिक्षा ऐनमा शैक्षिक कन्सल्टेन्सीको विषयलाई समेट्नेगरी आवाज उठाइरहेको बताए । उनले भने, ‘विद्यार्थीलाई उत्तीर्ण गराउने प्रलोभन देखाएर कसैले पनि गैरकानुनी काम गर्नुहुँदैन, सहज वातावरणमा विद्यार्थीलाई उपलब्ध गराउने जति कुरा मात्र बोल्नुपर्छ, हामीले आफ्नै नियमसमेत बनाएका छौं ।’

संघका अनुसार ४१३ वटा शैक्षिक कन्सल्टेन्सी दर्ता भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com