पीआर भिसा घटाउने अष्ट्रेलियन सरकारको घोषणाले नेपालीलाई असर गर्ला त ?
प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

अष्ट्रेलियन सरकारले ३० हजार पीआर भीसा कटौति गर्ने घोषणापछि नयाँ तरंग आएको छ ।
बुधबार आफ्नो नयाँ जनसंख्या नीति सार्वजनिक गर्दै अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको हो । १ लाख ९० हजार प्रतिवर्ष पीआर प्रदान गर्दै आएको अष्ट्रेलियाले यो संख्यालाई १ लाख ६० हजारमा सीमित गरेको छ ।
अष्ट्रेलियन सरकारले पीआर भीसामा १५ प्रतिशत कटौति गर्ने घोषणालाई लिएर चौतर्फी चर्चा र विश्लेषण गर्न थालिएको छ । विशेष गरी सरकारको यो नयाँ नीति र घोषणाले अष्ट्रेलियालाई गन्तव्य बनाउन चाहने विदेशीहरुमा कस्तो प्रभाव पर्छ भन्नेबारे चासो व्यक्त गर्न थालेका छन् ।
अद्यागमनका विज्ञहरुले भने सरकारको यो घोषणाले व्यवहारिक रुपमा कुनै असर नपर्ने प्रष्ट पारेका छन् । गत वर्ष पनि १ लाख ६२ हजार ४ सय १७ जनाले मात्र अष्ट्रेलियाको पीआर लिएका थिए । त्यसैले सरकारको बुधवारको घोषणाबाट तरंगित हुन आवश्यक नरहेको उनीहरु बताउछन् ।
त्यसैगरी अस्थायी भिसाकालागि सरकारले कुनै मापदण्ड घोषणा नगरेकोले विद्यार्थी भिसामा जान चाहने नेपाली विद्यार्थीहरुले कुनै चिन्ता गर्न आवश्यक नरहेको विज्ञहरुको भनाइ छ ।
अष्ट्रेलिया सरकारले गत वर्ष अर्थात सन् २०१८ को जुनसम्ममा ३ लाख ७८ हजार २ सय ९२ जनालाई विद्यार्थी भिसा प्रदान गरेको थियो ।
-हिमालयन कङ्गारु