सुर्खेतमा फेसबुक मार्फत लभ परेको प्रेमी भेट्न गएकी किशोरी सामुहिक बलात्कृत
प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

फेसवुकवाट चिनजान भएको युवालाई भेट्न गएकी एक किशोरी सुर्खेतमा सामुहिक बलात्कारको सिकार भएकी छन् । फेसबुकमा चिनजान भएपछि भेट्न बोलाएका किशोरले अर्का एक साथी सहित आफ्नै प्रेमिकाको सामुहिक बलात्कार गरेका हुन् । फागुन २६ गते भेट्न बोलाएर जंगलमा लगि साथीसंग मिलेर प्रेमिकाको बलात्कार गरेका हुन् ।
दिउँसो २ बजे वीरेन्द्रनगर ९ स्थिति कांक्रेबिहार जंगलमा घुम्न जाने बहानामा किशोरीलाई लगेर १६ र १७ वर्षका किशोरले सामुहिक बलात्कार गरेका हुन् । घुमाउन लैजाने बाहानामा दुई किशोरले बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जाहेरी दिएका छन् ।
वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएपछि पीडित परिवारले जाहेरी दिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। बलात्कार आरोप लागेका दुईमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका किशोर १६ वर्षका हुन्। उनको नाम गोप्य राखिएको छ।
उनका साथी १७ वर्षीय सागर चौधरी भने फरार छन्। पक्राउ परेका किशोरले प्रहरीसँगको वयानमा फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको र घुम्न जाँदा सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन्। पक्राउ परेका किशोरले उनीहरुबीच २५ दिनदेखि फेसबुकमा कुराकानी हुँदै आएको बताएका छन्।