युएससीआईएसका २१ वटै अन्तर्राष्ट्रिय कार्यालयहरु बन्द गर्ने ट्रम्प प्रशासनको तयारी


प्रकाशित मिति : फाल्गुन २८, २०७५ मंगलबार

ट्रम्प प्रशासनले अमेरिकी नागरिकता र अध्यागमन सेवा युएससीआईएसका विदेशमा रहेका २१ वटै अन्तर्राष्ट्रिय कार्यालयहरु बन्द गर्ने तयारी गरेको छ । यो कदमले पारिवारिक आधारमा प्राप्त हुने ग्रिनकार्डको प्रकृयालाई अझ सुस्त बनाउनसक्ने भएको छ । साथै सेनाका परिवारका सदस्यहरुलाई नागरिकता र धर्मपुत्रपुत्रीबारेको प्रकृयालाई पनि कठिन बनाउनेछ ।

युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिस्नाले मंगलबार आफ्ना कर्मचारीहरुलाई इमेल लेख्दै आफूले विदेशका युएससीआईएसका कार्यालयहरुको कार्यभार अमेरिकाभित्र रहेका युएससीआईएसका कार्यालयहरु र अमेरिकी कन्सुलेट तथा दूतावासलाई सुम्पन चाहेको बताएका छन् । सिस्नाले भने यो कदमबाट विदेशमा युएससीआईएस संचालनमा लागेको साधन श्रोतलाई अमेरिकाभित्र उपयोग गरेर ब्याकलग कम गर्ने बताएका छन् ।

ट्रम्प प्रशासनले न्यु दिल्ली, रोम लगायतका स्थानमा रहेका २१ वटा युएससीआइएस कार्यालयहरु आगामी केही महिनामा बन्द गर्ने योजना बनाएको छ । ती कार्यालयमा कार्यरत ७० जना युएससीआईएसका अधिकारीहरुलाई नयाँ जिम्मेबारी प्रदान गरिने जनाइएको छ ।

युएससीआईएसको इन्टरनेशनल अपरेशन डिभिजन अन्तरगत अमेरिकाभित्रै पनि २४० जना कर्मचारीहरु रहेका छन् । विदेशमा रहेका आधाभन्दा धेरै युएससीआईएसका कर्मचारीहरु भने विदेशी नागरिकहरु रहेको जनाइएको छ । स्थानीय ठेकेदार कर्मचारीहरुले विदेशमन्त्रालयको निगरानीमा आवेदकको चेकजाँच गर्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com