घरबेटीसँग घुम्न गएका २४ वर्षीय प्रहरी जवान हराएको एक सातापछि मृत फेला, घरबेटी प्रहरी नियन्त्रणमा
प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

करिब एक सातादेखि बेपत्ता कलेस्ती अस्थायी प्रहरी पोष्टका एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा २४ वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगर रहेका छन् । उनी बेपत्ता भएको एक साता पछि मृत फेला परेका हुन् ।
उनी तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारको अस्थायी प्रहरी पोष्टमा कार्यरत थिए ।ड्युटी सकेर घुम्न निस्किएका ठगेन्द्रको शव मंगलबार हराएको स्थानबाट केहि पर नहरमा फेला परेको प्रहरीले जनाएको छ ।
करिब १० बजे राती ड्युटी सकिएपछि आफू बस्ने घरका घरबेटीसँग चिन्टुटार घुम्न गएका उनी फर्किने क्रममा बेपत्ता भएकाले घरबेटी शैलेन्द्र घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ।
करिब ३ महिना अघिमात्र ठगेन्द्र प्रहरी जवानको रुपमा कलेस्ती अस्थायी प्रहरी पोष्टमा आएका थिए । पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान पछि घटनाबारे खुल्ने प्रहरीले जनाएको छ।