रेशम चौधरीलाई जन्मकैदको फैसला
प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार
टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो।
जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको हो ।
गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो ।
जसमध्ये २७ जना प्रतिवादी पुर्पक्षको सिलसिलामा थुनामा रहेकोमा ३१ जना फरार छन् । फरारको हकमा मुद्दा मुल्तबीमा राखिएको छ ।






