वामदेवले फेसबुकमा किन यस्तो ‘स्टाटस’ लेखे !
प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि गलत प्रचार गर्न थालिएको बताउनु भएको छ । उहाँले शनिबार फेसबुकमार्फत भन्नु भएको छ ।
‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो । नेपाली राजनितिक आकाशमा उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ ।
यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो । उनले मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको भन्दै जीवनभर पनि नदिने स्पष्ट पार्नु भएको छ । आफ्नो इच्छाविपरित पार्टीले निर्णय गरेपनि रवीन्द्रको निर्वाचन क्षेत्रमा आफू उमेदवार नबन्ने गौतमले बताउनु भएको छ ।
उहाँले उपनिर्वाचन हुँदाको अवस्थामा रवीन्द्रको परिवारका सदस्यलाई नै उमेदवार बनाउन आफू लागिपर्ने पनि बताउनु भएको छ । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका भन्दै आफूविरुद्ध गलत प्रचार सुरु भएको गौतमले गुनासो गर्नुभयो ।