उपत्यका हेर्ने डिआईजी भन्छन्ः ‘फेसबुकको पासवर्ड परिवारलाई दिनुस्, तर ब्वाईफ्रेन्डलाई नदिनुस्’


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने जिम्मा पाएका महानगरीय प्रहरी प्रमुख (डिआईजी) शैलेश थापा क्षेत्रीले साईबर अपराध न्युनिकरणका लागी किशोरीहरुले सामाजिक सञ्जालको पासवर्ड आफ्ना बाबुआमासँग सेयर गर्नुपर्ने बताएका छन्

शुक्रबार महानगरीय प्रहरी प्रभाग कोटेश्वर र सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर–३२ ले आयोजना गरेको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै डिआईजी थापाले यस्तो बताएका हुन् ।

‘मेरी छोरीले मसँग पासवर्ड शेयर गरेकी छिन्, हामी एउटै ल्यापटप चलाउँछौं’ डिआईजी थापाले भने, ‘किशोर अवस्थाका नानीहरुले परिवारलाई पासवर्ड शेयर गरेमा साईबर अपराधका घट्ना न्युनिकरण गर्न धेरै सहज हुन्छ ।’

पछिल्लो समय साईबर अपराध बढ्दै गएको चर्चा गर्दै डिआईजी क्षेत्रीले अपराधीको इच्छा, क्षमता र अवसरको ट्रयाङ्गल पुरा गर्न नदिएर प्रहरीले अपराध रोक्ने गरेको बताए । उनले भने, ‘तपाईहरु डेटिङ जाँदा सार्वजनिक स्थानमा जानुस्, त्यसो गर्नुभयो भने तपाईमाथि बलात्कार हुने सम्भावना कम हुन्छ ।’

किशोरीहरुले केटा साथीलाई आफ्नो फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालको पासवर्ड दिँदा समस्या हुने गरेको उनले बताए । क्षेत्रीले भने, ‘ब्वाईफ्रेन्डलाई पासवर्ड नदिनुस्, बरु परिवारलाई दिनुस् ।’

कोटेश्वर क्षेत्रका विभिन्न स्कुल तथा कलेजहरुमा पढ्ने विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई प्रशिक्षणात्मक सम्वोधन गर्दै डिआईजी क्षेत्रीले नागाजुर्नको एकान्त जंगलमा डेटिङ लान खोज्ने युवा प्रवृत्तिका कारण अपराधका घट्ना बढेको बताए । उनले भने, ‘एकान्तमा डेटिङ लैजाने केटा साथीसँग सम्बन्ध तोड्नुस् अनि सँधै केटासाथीको मोटरसाईकलमा नहिँडनुस्, कहिलेकाँही आफ्नो स्कुटरमा उसलाई बसाल्नुस् ।’

कसैले फलो गरेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्न आग्रह गर्दै डिआईजी क्षेत्रीले बलात्कार जस्तो जघन्य हकर्त गर्न खोजेमा प्रतिकार गर्न आग्रह गरेका छन् ।

‘एकान्त ठाउँमा धेरै अपराध हुने गरेको छ’ उनले भने, ‘कसैले फलो गरेमा मान्छेको भीडतर्फ जानुस्, अनि कसैको सहयोग माग्नुस् ।’

कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रहरीमाथि ठुलो दाग लागेको उल्लेख गर्दै डिआईजी क्षेत्रीले उक्त दाग पखाल्ने जिम्मा पनि प्रहरी संगठनकै भएको बताए ।

‘निर्मलाको हत्यारा पत्ता लगाउने हतारो सवैभन्दा धेरै हामी प्रहरीलाई छ’ उनले भने, ‘रानीबारी हत्याकाण्ड १० बर्षमा पत्ता लागेको थियो, त्यसैले तपाईहरुले विर्सिएपनि प्रहरी निर्मला घट्ना ब्रेकथ्रु गर्न लागिपरेको छ, हामी अवश्य ब्रेकथ्रु गर्छौं ।’

कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले प्रहरी सक्रियताकै कारण संगठित गुण्डागर्दी र तराईको हतियारधारी समुह आज हराएको बताए । ‘पेशेवर अपराधीबाट हुने अपराध घटेपनि बलात्कारका घट्ना अपेक्षित रुपमा नघट्नुको पछाडीको कारण समाजका सदस्यहरु नै हुन्’ एसएसपी सुवेदीले भने, ‘किनकि, आफन्त नातागोता र चिनजानको मान्छेबाटै बलात्कार हुने गरेको छ ।’

आफन्त र चिनजानका मान्छेबाटै किशोरीहरु बलात्कृत हुन थालेपछि समुदायसँग मिलेर त्यस्ता घट्ना न्युनीकरण गर्न प्रहरीले सामुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरेको एसएसपी सुवेदीले बताए । उनले भने, ‘१६ बर्ष मुनिका बालक बलात्कारमा संलग्न भएको उदाहरण हामीसँग छ, जघन्य अपराधका १० प्रतिशत घट्नामा बालवालिका संलग्न हुन थालेपछि हामीले विद्यार्थीहरुको बीचमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम लिएर आएका हौं ।’

कोटेश्वर प्रहरी प्रभागले आफ्नो क्षेत्रमा प्रहरी–विद्यालय सम्पर्क समिति गठन गरेर प्रशिक्षण, कक्षा सञ्चालत लगायतका कार्यलाई निरन्तरता दिँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com