जापानमा नक्कली लाइसेन्स प्रकरण : २ नेपाली पक्राउ


प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार

नेपालको नक्कली सवारीचालक अनुमति पत्र बनाईदिएर जापानको सवारी चालक अनुमति पत्र लिन सघाएको आरोपमा जापान प्रहरीले दुईजना नेपालीलाई पक्राउ गरेको छ ।

जापानको टोकियो लगायत अन्य स्थानहरुमा रेष्टुरेण्ट सहित अन्य व्यवसाय गर्दै विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका पुस्कर थापा र उनका भाई अशोक थापालाई टोकियो महानगरिय प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

टोकियो ब्रोडकास्टिङ सिस्टम (टिविएस) टेलिभिजनमा प्रशारित समाचार अनुसार नेपालको ड्राइभिङ अनुभवनै नभएकाहरुलाई नेपालको सवारी चालक अनुमतिपत्र बनाउन सघाएको लगायतका आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेपनि उनीहरुले आफुमाथि लागेको आरोप भने अश्विकार गरेका छन् । पुस्कर थापाले आँफूमाथि लागेका पूरै आरोप अस्विकार गरेका छन् भने अशोक थापाले भने केही आरोपहरु पैसाको आवश्यकता भएकाले त्यसो गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

नेपालको लाईसेन्स भएमा जापानको सवारी चालक अनुमति पत्र योग्यता परिक्षणमा पाईने छुटको सूविधालाई दुरुपयोग गर्दै जापानको सवारीचालक अनुमति पत्र बनाइदिए वापत १ लाख ८० हजार जापानी येनसम्म लिएको आरोप उनिहरुमाथि छ । यसका साथसाथै नेपालमा लाईसेन्स विभागका कर्मचारीहरुसँग सहकार्य गरेर नेपालको लाईसेन्स गलत प्रक्रियाबाट बनाउनु साथै नक्कली लाईसेन्स समेत बनाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

घटनाबारे थप छानविन भैरहेको बताइएको छ ।

केही महिनाअघि यस्तै प्रकृतिको आरोपमा बिजय थापा नामका अर्का एक नेपाली समेत पक्राउ परेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com