ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय पक्राउ
प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार
ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए।
२०५६ पुस १३ मा जारी नागरिकतामा साहको बुबा स्वर्गीय अनुपलाल साह लेखिएको छ। तर उनका बाबु विश्वनाथ साह हुन्। उनी जीवितै छन्। नगर पञ्चायत जोगबनीले तयार पारेको आमनिर्वाचन नामावलीमा साहको बाबुको नाम विश्वनाथ लेखिएको छ। मोरङ जिल्ला, विराटनगर ठेगाना उल्लेख गरेका साहले सुरुमा बनाएको नागरिकता हराएपछि वंशजका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०६४ पुस १७ प्रतिलिपि लिएको पाइएको छ।
साहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि महानगरीय प्रहरी परिसर टेकुले छानबिन गरेको थियो। छानबिनका क्रममा किर्ते गरेर नागरिकता लिएको खुलेपछि साह गत साता पक्राउ परेका हुन्। उनले किर्ते नागरिकतालाई नै आधार बनाएर २०५७ मंसिरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएका छन्। यस्तै उनले सोही नागरिकताका आधारमा विराटनगर र सिरहाको बस्तीपुरमा जग्गा खरिद गरेको पाइएको छ। अन्नपूर्ण पाेस्ट् दैनिकले प्रकाशित गरेकाे छ ।






