Follow @khasokhasmag

नेता टाइपकाे भाषण अाउँदैन : अभिनेत्री करिश्मा मानन्धर


प्रकाशित मिति : पुस २३, २०७३ शनिबार

चर्चित अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय छिन् । झन्डै नौ महिनाअघि डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा आबद्ध भएकी उनी अचेल कलाकारिता कम, राजनीति कार्यक्रममा ज्यादा देखिने गरेकी छिन् । फिल्म अभिनय, निर्माणबाट जस्तैै राजनीतिबाट पनि समाजमा योगदान दिने उत्कट चाहनाले आफूलाई राजनीतिमा डोर्‍याएको दाबी उनको छ । नयाँ शक्तिमा आबद्ध भएपछिका विविध अनुभव र अनुभूतिबारे उनले  सन्तोष भट्टराईसँग कुराकानी गरेकी छिन् :

डा. भट्टराईसँग पहिलो भेट
विभिन्न राजनीतिक कार्यक्रममा बाबुरामजीलाई देखिरहन्थेँ । उहाँ प्रधानमन्त्री नबन्दासम्म हाम्रो देखादेख मात्र भयो । नेपालमा जनता र नेताबीच ठूलो खाडल छ । तर, जसरी अन्य नेतासँग भेट्न झन्झटिलो प्रक्रिया पार गर्नुपर्छ, डा. भट्टराईसँग भेट्नचाहिँ पहिल्यैदेखि सहज रहेछ । उहाँसँगको पहिलो भेटमा नै मैले महसुस गरेको के हो भने कसैले पनि उहाँसँग भेट हुन्छ कि हुँदैन भनेर सुर्ता मान्नुनपर्ने रहेछ ।

उहाँ प्रधानमन्त्री भएपछि म बधाई दिन पुगेँ । सहजै भेट्न पाएँ । अन्त्यमा उहाँले मुस्कुराउँदै तपार्इंको कुनै माग छ कि ? भनेर सोध्नुभएको थियो । मैले ‘मेरो व्यक्तिगत माग केही पनि छैन सर । तपाईं प्रधानमन्त्रीको पदबाट बाहिरिँदा जनताले पछिसम्म सम्झिइरहने केही काम गर्नुहोला’ भनेकी थिएँ ।

स्वविवेकले लागेँ राजनीतिमा
चुनावको समय विभिन्न राजनीतिक पार्टीले कलाकारलाई प्रयोग गर्ने हाम्रोमा प्रचलन नै भइसकेको छ । मलाई पनि चुनावको समयमा विभिन्न पार्टीका नेताहरूले ‘आउनुहुन्छ कि’ भनेर सोधिरहनुहुन्थ्यो । मलाई अघिल्ला चुनावमा राजनीतिमै आउने प्रबल चाहना भएन ।

तर, जब डाक्टर सा’बले पार्टी परित्याग गर्नुभयो, मैले पनि यसबारेमा सोच्न थालेकी थिएँ । तत्कालीन एमाओवादी पार्टी परित्याग गरेपछि उहाँले विभिन्न संस्था र नागरिक समाजका सामु राखेको विचार मलाई मन परिरहेको थियो ।

त्यसै क्रममा म राजनीतिमा आएर केही योगदान दिन सक्छु भने किन नआउने भन्ने लाग्यो । र, त्यही सिलसिलामा म नयाँ शक्तिमा जोडिएँ । म आफ्नै विवेकले नयाँ शक्तिमा आबद्ध भएकी हुँ । न उहाँले मलाई कहिल्यै राजनीतिमा आउन भन्नुभयो, न मैले नै उहाँलाई कर गरेँ । म आफैँ पार्टीमा लागेकी हुँ ।

श्रीमानलाई समेत सोधिनँ
आफू राजनीतिमा होमिने निर्णय गर्न मलाई कठिन त भयो नै । नेपालको राजनीति आलोचित छ, त्यसमाथि सामाजिक प्रतिष्ठा आर्जन गरेको कलाकार राजनीतिमा सामेल हुँदा कहीँ न कहीँ दर्शकको मन दुख्ला भन्नेमा म सचेत थिएँ । यति हुँदाहुँदै पनि आफू सही बाटोमा भए समयले नै दर्शकको चित्त दुखाइको उत्तर दिनेछ भनेर मन बुझाएकी छु ।

म पार्टीमा लाग्दा कोही दर्शक, शुभचिन्तककोे चित्त दुखेको रहेछ भने म असल काम गरेर मलमपट्टी लगाउनेछु । म मेरो श्रीमान् विनोदलाई नसोधी कुनै पनि निर्णय गर्दिनँ । तर, राजनीतिमा आउने निर्णय गर्दा मैले विनोदलाई सोधिनँ । म चाहन्थेँ, यो मेरो नितान्त व्यक्तिगत निर्णय रहोस् । अर्को कारणचाहिँ मेरो परिवारले मलाई द्विविधामा पारिदिन्छ भनेर मैले कसैलाई यो निर्णय ‘सेयर’ गरिनँ ।

एकैचोटि म नयाँ शक्तिमा प्रवेश गर्ने समाचार सञ्चारमाध्यममा आएपछि उहाँहरूले थाहा पाउनुभयो । समाचार सुनेपछि विनोदजीले मलाई ‘तिमीले आफ्नो निर्णय बुझेरै गरेको हो ?’ भनेर सोध्नुभयो । मैले ‘हो’ भनेँ । त्यसपछि उहाँले मलाई थप कुनै प्रश्न गर्नुभएन । र, आजसम्म मेरो निर्णयलाई कुनै अवरोध पनि गर्नुभएको छैन । मेरी छोरी कविताले चाहिँ ‘पोलिटिक्स इज नट फर यू मामु’ भनिन् । मैले हाँसेरै टारिदिएँ ।

थाहा छ, मेरो आलोचना हुन्छ
नयाँ शक्तिमा जोडिएपछि मेरो आलोचना पनि हुने गरेको छ । मलाई राम्ररी थाहा छ । तर, मैले तमाम आलोचनालाई सहज रूपमै लिने गरेकी छु । कलाकारका रूपमा जताततै हाई–हाई भए पनि नेतृका रूपमा कुनै गल्ती–कमजोरीविना नै तीव्र आलोचनाको सिकारसमेत भएकी छु । म आफ्नो विचारमा प्रस्ट छु । त्यसैले आलोचनाकै कारण उत्तेजित हुने वा हीनताबोधले ग्रस्त हुने मेरो बानी छैन । अरूलाई गाली गर्नु आफूभित्र विकार हुनु पनि हो । हो, मलाई थाहा छ, नेपाली समाजमा राजनीतिप्रति अत्यन्त ठूलो वितृष्णा छ । तर, यसलाई पखाल्नु जरुरी छ । हामी राजनीतिमा संलग्नहरूकै सामूहिक प्रयत्न र असल कार्यको सुरुवातले यसलाई पखाल्न सकिन्छ ।

यसकारण नयाँ शक्ति रोजेँ
नेपालमा एक सय ८१ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता रहेछन् । मलाई एक सय ८० वटा राजनीतिक दलमा जानु नै थिएन । मेरो विचार केवल नयाँ शक्तिसँग मिल्न गयो । त्यसैले मैले यसलाई नै रोजेकी हुँ । हाम्रो नेपाललाई आर्थिक समृद्धि र सुःख–शान्ति चाहिएको छ । नयाँ शक्तिले नै पहिलोपल्ट यी सवालहरूलाई आफ्नो राजनीतिक मुद्दा बनायो । राजनीतिक अधिकारप्राप्तिको चरण समाप्त भएको र देश आर्थिक समृद्धिको चरणमा जानु आवश्यक भएको मेरो निचोडसँग नयाँ शक्तिको एजेन्डा मिलेका कारण म यसमा आबद्ध भएकी हुँ ।

म सन् १९९५ मा चीनको बेइजिङ गएकी थिएँ । त्यसवेला बेइजिङमा खासै भौतिक पूर्वाधारको विकास भएको थिएन । तर, आजभन्दा तीन वर्षअघि बेइजिङ जाँदा म चकित परेँ । त्यहाँ निकै विकास भएको रहेछ । सन् १९९४ मा एक कार्यक्रमको सिलसिलामा कतार गएकी थिएँ । चारैतिर झाडी मात्र थियो । तर, आज संसारको ध्यान तान्न सफल देश भएको छ कतार । समुद्र पुरेर त्यसमाथि सहर ठड्याइएको छ । चारैतिर मरुभूमिलाई हरियाली बनाएको छ । हाम्रो देशका युवाहरूलाई आयात गरिरहेको छ कतारले । त्यसैले हाम्रोमा पनि अरू देशको झैँ विकास र समृद्धि सम्भव छ भनेर नै म नयाँ शक्तिमा प्रवेश गरेकी हुुँ।

राजनीतिक जीवनका नौ महिना
म नयाँ शक्तिमा आबद्ध भएको करिब नौ महिना भयो । कलाकारका रूपमा नभई नेतृका रूपमा राजनीतिक कार्यक्रममा भाग लिन विभिन्न ठाउँमा पुगेकी छु । कतिपय ठाउँमा डा. बाबुराम भट्टराईसँगै राजनीतिक कार्यक्रममा भाग लिएँ । यसले मलाई के सिकायो भने सिनेमाको पर्दामा देखाइने सुन्दर ‘सिन’भन्दा जनताको वास्तविक जीवनको चित्र भिन्न रहेछ । जनताको अवस्था अझै पनि दर्दनाक रहेछ भन्ने बोध भयो । कलाकारिता र राजनीतिको भाषा नै भिन्न हुने रहेछ । तर, जनताले त सामान्य भाषा नै बुझेको महसुस गरेकी छु ।

नेताहरूले बोल्ने भाषा कहिलेकाहीँ ‘हेभी’ भइदिन्छ । त्यसलाई बुझ्न सर्वसाधारणलाई निकै गाह्रो परेको देखेकी छु । अहिले हाम्रो पार्टीमा डा. सा’बले नै दस्तावेज लेखनमा बारम्बार सामान्य भाषा प्रयोग गरौँ भन्नुहुन्छ । त्यसैले जनताले बोल्ने साधारण भाषालाई प्राथमिकता दिएका कारणले नयाँ शक्तिमा मलाई सहज नै महसुस भएको छ । हाम्रो भाषा र काम गराइ जनमुखी हुनुप-यो, नेतामुखी होइन । हामी कलाकारले लगाउने पोसाक र राजनीतिक व्यक्तिले लगाउने पोसाकमा केही भिन्न भएको महसुस गरेकी छु । म त कलाकार हुँ । रातारात आफूलाई परिवर्तन गर्ने भन्ने पनि हुँदैन । राजनीति गर्ने भन्दैमा साडी र कुर्ता मात्र लगाउनुपर्छ भन्ने पनि हुँदैन । त्यसैले उहाँहरूले मलाई कलाकारकै पोसाकमा स्विकार्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेता टाइपको भाषण आउँदैन
मलाई महसुस छ कि नेताले बोल्ने भाषाशैली र कलाकारले बोल्ने भाषाशैलीमा धेरै भिन्नता रहेछ । मलाई लाग्छ– नेताले आम सर्वसाधारणभन्दा फरक देखिने प्रयास गर्नुभएन । नेताहरू पनि हाँस्नुप¥यो, नाच्नु र गाउनुप¥यो । आम नागरिकभन्दा फरक देखिनुपर्ने मान्यताले नेतालाई जनमुखी नबनाएको होला भन्ने लाग्छ । मलाई अझै पनि ‘नेता टाइप’को भाषण गर्न आउँदैन । सामान्य नागरिकको भोगाइ र भाषाशैली नै मलाई मनपर्छ । त्यही भएर मैले बोलेको नेताले बोलेको भन्दा फरक हुन्छ ।

कलाकारिता मेरो ‘प्यासन’ हो । यसलाई म कहिल्यै पनि छाड्दिनँ । अहिले पनि विभिन्न समारोहमा म कलाकारकै रूपमा उपस्थित हुन्छु । फेरिएको मेरो भूमिकाका कारण राजनीति र कलाकारितामा तालमेल मिलाउनचाहिँ गाह्रो परेको छ । तर, म कोसिस गरिरहेकी छु । त्यसैले अहिले पनि मेरो पहिलो चुनौती नै समय व्यवस्थापन गर्नु हो । मैले हाल यसैमा ध्यान दिइरहेकी छु । कलाकारिताबाट मात्र होइन, अब राजनीतिबाट पनि समाजमा केही योगदान गर्न चाहन्छु । यसका लागि मलाई मेरा दर्शकरूपी आम जनताको साथ चाहिन्छ । नयाँ पत्रिकाबाट

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com