अमेरिकाको केन्टकीमा नेपालीको हत्या र आक्रमणका अभियुक्तबाट अपराध अस्वीकार
प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

अमेरिकामा नेपालीको हत्या अभियोगमा पक्राउ परेका शाद्राच पिलेरले अदालतसमक्ष आफू निर्दोष रहेको दावी गरेका छन् । बिहिबार केन्टकीको एलिजाबेथटाउनमा ४० बर्षीय सुवाश घले र ३४ बर्षीय चेरी टर्नेरको हत्या अभियोगमा पिलेरलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनामा ३१ बर्षीय प्रयास बानिया र ३४ बर्षीय नादिया ब्राउनी घाइते भएका थिए । खुट्टामा गोली लागेकी ब्राउनी उपचारपछि घर फर्किसकेकी छिन् । नेपाली युवक प्रयास बानियाको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर तर स्थीर रहेको बताइएको छ ।
हत्याको अभियोगमा पक्राउ पिलेरलाई सोमबार अदालतसमक्ष पेश गरिएको थिए । एकजना न्यायाधिसले पिलेर समुदायका लागि खतरनाक भएको बताएका थिए । तर पिलेरको धरौटी रकम भएको २० लाख डलर नै कायम रहेको छ ।
पिलेरलाई आगामी मार्च ८ मा पुन अदालतमा पेश गरिने जनाइएको छ । हत्याको अभियोग पुष्टी भएको खण्डमा पिलेरलाई आजिवन कारावाशको सजाय हुनसक्ने जनाइएको छ ।
पिलेरमाथि बिहिबार राती केन्टकीको एलिजाबेथ टाउनमा रहेको टिमार्ट स्टोरमा सुवाश घलेको गोली हानी हत्या गरेको अभियोग लगाइएको छ । बिहिबार राती करिब साढे ११ बजेतिर पिलेरले स्टोरमा गई सुवाश घले र त्यहाँ कार्यरत अर्का नेपाली प्रयास बानियामाथि गोली चलाएको अभियोग छ ।
घलेको घटनास्थलमा नै मृत्यु भएको थियो भने बानियालाई एयर एम्बुलेन्स मार्फत बानियालाई उक्त अस्पतालमा लगिएको थियो । ३५ बर्षीय पिलेरले सुरुमा आफूसँगै बस्ने चेरी निकोल टर्नेर नामकी युवतीमाथि गोली हानेको जनाइएको छ । त्यसपछि टिमार्ट पुगेर पार्किङ लटमा रहेकी नादिया ब्राउनीको खुट्टामा गोली हानेको थियो । ब्राउनीमाथि गोली हानेपछि पिलेरले स्टोरमा गएर घले र बानियामाथि गोली हानेको जनाइएको छ ।
पिलेरमाथि फस्ट डिग्री आक्रमण र सेकेण्ड डिग्री आक्रमणको अभियोग लगाइएको छ । हार्डिन काउन्टी डिटेन्सन सेन्टरमा राखिएका पिलेरलाई २० लाख डलर नगद धरौटी समेत तोकिएको छ । सोमबार पिलेरलाई अदालतसमक्ष पेश गरिनेछ र औपचारिक रुपमा अभियोग लगाएर मुद्दा अगाडि बढाइनेछ ।