अचानक भोलि मंगलबार सार्वजनिक बिदा


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन आउँदो मंगलबार सार्वजनिक विदा दिइएको छ । बिराटनगर महानगरपालिकाले नेपाली भाषाको झर्राेवादी आन्दोलनका अगुवा पोखरेलेको निधनमा शोकमा मनाउन आउँदो मंगलबार महानगरभित्र सार्वजनिक बिदा दिने मेयर भीम पराजुलीले जानकारी दिएका छन् । पोखरेलको आइतबार बिहान साढे एकबजे ८६ वर्षको उमेरमा विराटनगरस्थित आफ्नै निवास निधन भएको थियो ।

लामो समयदेखि काठमाडौँस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराएका थिए । उच्चरक्तचापका बिरामी प्राज्ञ पोखरेलका एक छोरा मुनाल र दुई छोरी त्रिपुरा खरेल र मुना घिमिरे रहेका छन्। बिराटनगरको परोपकार घाटमा आइतबार राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ ।

राष्ट्रिय सम्मानका साथ बिराटनगरस्थित परोपकार घाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो । नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेललाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओढाएका थिए ।

उमेरले ८६ पुगेका पोखरेल पछिल्लो समय महाकाव्य प्रकाशनको तयारीमा थिए । रुपारानी महाकाव्य लेखन गरिरहेका पोखरेलले ७५ प्रतिशत लेखिसकेको बताउँदै आएका थिए । सन् १९३३ मा मकवानपुरको चिसापानीगढीमा जन्मिएकाख उनले १३ बर्षको उमेरदेखि साहित्य लेखन सुरु गरेका थिए । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश काव्य गरी पोखरेलका एकसय बढी कृति प्रकाशित छन् ।

कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले त्रिभुवन विश्वविद्यालयमा २७ वर्ष अध्यापन गरे । अंग्रेजी शब्द मिसाएर बोल्दा नेपाली शब्द बिग्रिएको प्रति चिन्ता गर्दै पोखरेलको नेतृत्वमा भारत बनारसबाट झर्राेवादी आन्दोलन सुरु भएको थियो । अनुसन्धानमूलक लेखनमा समेत सक्रिय रहेका पोखरेलको कृति ‘नेपाली भाषा र साहित्य’ ले वि.सं ०२१ सालमा मदन पुरस्कार पाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com