प्रधानमन्त्रीलाई केक लिएर भारतीय नायिका बालुवाटारमा


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो ६८ औँ जन्मदिनको मनाए । सो अवसरमा अम्बाको विरुवा रोपे, प्रम पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपिन्।
प्रधानमन्त्रीले केक समेत काटे । प्रेस संयोजक चेतन अधिकारीका अनुसार, जन्मदिनका अवसरमा काटेको केक प्रम ओलीले पालैपालो बुबा मोहनप्रसाद ओली र पत्नी शाक्यलाई खुवाए। त्यसरी ओलीले काटेको के भारतीय अभिनेत्री जया प्रदाले लगेकी थिइन् ।

जयाले ल्याइदिएको केकमा ६८ बर्षमा प्रवेश गरेका ओलीको दीर्घायू र सुस्वास्थ्यको कामना गरिएको बेहोरा अंकित थियो। जया शुक्रबार नेपाल आएकी थिइन् । उनी नेपालको पर्यटन दुत समेत हुन् ।

जया भारतीय फिल्मी दुनियाकी चर्चित कलाकार त हुन् नै, चर्चित राजनीतिक नेत्रीपनि हुन् उनी। ओलीको संघर्षपूर्ण राजनीतिक जीवन र अभिनेत्री जयाको ‘फिल्मी करिअर’ नै यस्तो कडी बन्न पुग्यो, जसले ओली र जयालाई एक अर्काको ‘फ्यान’ बनायो।
२०३१ मा रौतहटबाट पक्राउ परेका ओली २०४४ असारमा मात्र जेलबाट रिहा भएका थिए। जनमत संग्रहताका २०३६ मा समेत ओली जेलमा नै थिए। त्यो बेला जया भारतीय रजतपटमा प्रवेश गरिसकेकी थिइन्। र, ‘करिअर’ को उत्कर्षमा थिइन्।

२०३३–०३४ ताका प्रसिद्ध भारतीय निर्देशक के. विश्वनाथले ‘सिरी सिरी मुभ्भा’ नामको फिल्म निर्माण गरेका थिए। तेलुगु भाषामा निर्माण गरिएको फिल्मका अभिनेत्री थिइन्, जया। तीन बर्षपछि ‘सिरी सिरी मुभ्भा’ कै कथानक प्रयोग गरी विश्वनाथले फिल्म ‘सरगम’ निर्माण गरे।

‘सरगम’ मा पनि जया नै अभिनेत्री रहिन्।‘सरगम’ फिल्ममा एक सुन्दर–सुमधुर गीत छ, ‘डफली वाले, डफली बजा।’ त्यो गीतमा अभिनेता ऋषि कपुरसँगै जयाले नृत्य गरेकी छन्। पुराना हिन्दी फिल्मका गीतका कतिपय पारखीहरु अहिले पनि ‘डफली वाले, डफली बजा’ गुन्गुनाइरहेका भेटिन्छन्।
ओली यता जेलमा थिए, उता भारतमा जया अभिनित ‘सरगम’ उधुम पिट्दै थियो। फिल्म भन्दा अझ बढी उधुम त अझ कपुरसँगै जयाले नृत्य गरेको ‘छडफली वाले, डफली बजा’ ले पिटिरहेको थियो। जयालाई भारतीय सिने क्षेत्रको ‘स्टार’ बनाएको पनि खासमा त्यही फिल्मले हो, त्यही गीतको नृत्यले हो।

भारतीय फिल्म, नेपालमा प्रदर्शन नहुने कुरै भएन। ‘सरगम’ नेपाली हलहरुमा पनि प्रदर्शन भयो। नेपालीहरुले फिल्म मन पराए। ‘डफली वाले, डफली बजा’ गीत नेपाली युवायुवतीको मुखमा पनि झुण्डिन थाल्यो।

नेपाली युवा युवतीहरुको मुख–मुखमा झुण्डिएको यो गीतलाई ओलीलाई जेलमा राखिएको जेलका दिवारहरुले रोक्न सकेनन्। ‘डफली वाले, डफली बजा’ गीत ओलीलाई कैद गरिएको जेलमा पनि पुग्यो। जेलमा अन्य राजनीतिक–गैर राजनीतिक बन्दीहरुसँगै ओलीले पनि जयाले नृत्य गरेको यो गीत मन पराए।

ओली र जयाको पहिलो भेट कहिले भयो, थाहा छैन। तर, प्रधानमन्त्री ओलीका एक सहयोगीका भनाईमा, जब जयासँग ओलीको पहिलो भेट भयो, उनले जेलमै छँदा आफू जयाको ‘फ्यान’ भइसकेको बताएको थिए।

‘म त जेलमा थिएँ, त्यहाँ फिल्म हेर्न सम्भव थिएन’ पहिलो भेटमा ओलीले जयालाई भनेका थिए, ‘तर, रेडियो सुन्न पाइन्थ्यो, रेडियोमा तपाईंले नृत्य गरेको ‘डफली वाले’ गीत सुन्न पाइन्थ्यो। त्यसमा तपाईं र ऋषि कपुरले नृत्य गरेको थाहा भयो। त्यसैले, म जेलमा छँदैदेखि तपाईंको फ्यान हुँ।’
शीर्ष स्थानमा रहेको नेपाली राजनीतिक नेताले प्रसंशा गरेपछि जया मख्ख नपर्ने कुरै थिएन। फिल्मको प्रसङ्ग जोड्दै ओलीले आफ्नो प्रशंसा गरेपनि आखिर उनीपनि राजनीतिक व्यक्ति थिइन् त्यो पनि नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशलाई कर्मथलो बनाएकी नेतृ।

जया भारतीय रजतपटको उत्कर्षमै थिइन्। उनको फिल्मी करिअर सफलतापूर्वक अघि बढ्दै थियो। ‘सिने स्टार’ बनिसकेकी थिइन्। त्यसैक्रममा उनले राजनीतिमा लाग्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रस्ताव प्राप्त गरिन्। प्रस्ताव फिल्मी क्षेत्रका अग्रजबाट नै प्राप्त भएको थियो।

जयालाई राजनीतिको प्रस्ताव गर्ने अग्रज थिए, टि.एन. रामा राव।

फिल्म अभिनेता, निर्माता, निर्देशक र फिल्म सम्पादकको परिचय बनाइसकेका रावपनि कालान्तरमा राजनीतिमा सक्रिय भए। सन् १९८२ मा दल तेलुगु देशम पार्टीमा प्रवेश गरेका उनी, लगत्तै १९८३ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको मुख्यमन्त्री बन्न सफल भए।

रावको अफर जयाले स्वीकार गरिन्। राव नेतृत्वको तेलुगु देशम दलमा पार्टीमा प्रवेश गरिन्। र, सन् १९९४ को निर्वाचनमा तेलुगु देशम पार्टीलाई जिताउन सक्रियतापूर्वक लागिन्। त्यसको दुई बर्षपछि पार्टीको तर्फबाट भारतको माथिल्लो सदनमा पुगिन, सांसद भइन्।

त्यतिबेलासम्म तेलुगु देशम पार्टीमा चन्द्रबाबु नायडु प्रमुख भइसकेका थिए। अन्य नेताहरुसँगै नायडुसँग उनको मतभेद चुलिँदै गयो। त्यसैले, जयाले सोही पार्टी परित्याग गरी उत्तर प्रदेशमा प्रभावशाली मुलायमसिँह यादव नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गरिन्।

समाजवादी पार्टीले उनलाई सन् २००४ को निर्वाचनमा उत्तर प्रदेशको रामपुर लोकसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनायो। पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेकी जयाले ८५ हजार भन्दा बढी मतान्तरका साथ विपक्षी उम्मेदवारलाई पराजित गरिन्।

सन् २००९ को निर्वाचनमा पनि उनले त्यही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिन्। त्यो बेला समाजवादी पार्टीमा विवाद देखिन थालेको थियो। प्रतिकूलताका बाबजुद प्रदाले यस पटक पनि निर्वाचनमा बाजी मारिन्। ३० हजार भन्दा बढी मतका साथ विजयी भइन्।
त्यसपछिका राजनीतिक अनुभव उनका लागि सुखद रहेनन्। समाजवादी पार्टीका प्रभावशाली महासचिव अमर सिँहले पार्टी परित्याग गरे। प्रदाले सिँहलाई नै साथ दिइन् र सिँहसँगै उनी अजित सिँह नेतृत्वको ‘राष्ट्रिय लोकदल’ नामको पार्टीमा प्रवेश गरिन्।

भारतका पूर्व प्रम चौधरी चरण सिँहका छोरा अजित सिँह नेतृत्वको लोकदलले उनलाई सन् २०१४ को लोकसभा निर्वाचनमा उत्तर प्रदेशको बिजनोर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनायो। तर, नरेन्द्र मोदीको पक्षमा चुनावी लहर चलेकाले जया पराजित भइन्।
फिल्मी र राजनीतिक सफलताको तुलनामा जयासँग पारिवारिक जीवनको त्यति सुखद अनुभव भने छैन।

सन् १९८६ मा उनले फिल्म निर्माता श्रीकान्थ नाहटासँग विहे गरिन्। जयासँगको विहे श्रीकान्थको दोस्रो विहे थियो। अर्थात् उनी त्यसअघि नै विवाहित व्यक्ति थिए। र, दुई सन्तानका बाबु पनि बनिसकेका थिए।

विवाहित नाहटासँग जयाको विवाह भारतीय समाजमा विवादित बन्यो। ‘नाहटाको श्रीमति छँदाछँदै सौता बनेर भित्रिएको’ भन्दै जयाको तीब्र आलोचना भयो। अझ जयासँग विहे भएपछि नाहटाकी पहिलो पत्नी चन्द्राबाट जब एक सन्तानको जन्म भएपछि श्रीकान्थ–जयाबीचको सम्बन्ध सुमधुर नरहेको अनुमान लगाइयो।
आफूसँगको विहेपछि श्रीकान्थकी पहिली पत्नी चन्द्राले थप एक सन्तानलाई जन्म दिएलगत्तै जयाको ‘मलाई पनि आमा बन्ने रहर छ’ भन्ने अभिव्यक्ति थप चर्चित मात्र बनेन, श्रीकान्थसँग जयाको सम्बन्ध सुमधुर नरहेको भनेर त्यसलाई अथ्र्याइयो।

समाजवादी पार्टीका तत्कालिन महासचिव अमर सिँहसँगको सान्निध्यका कारण समाजवादी पार्टी प्रवेश, सो पार्टीबाट सिँहको बहिर्गमनसँगै जयाको पनि पार्टी त्याग, अनि सिँहसँगै राष्ट्रिय लोकदलमा प्रवेशका कारण अमर सिँह–जया प्रदाबीचको सम्बन्ध भारतीय सिने–राजनीतिक क्षेत्रमा चर्चाको विषय बन्ने गरेको छ।

सिँहसँगको सान्निध्यलाई लिएर अनेक टीकाटिप्पणी हुन थालेपछि एक पटक जयाले भनेकी थिइन्, ‘अमर सिँहलाई मैले आफ्नो दाजु सम्झेर राखी बाँभिदिएँ भनेपनि कतिपय व्यक्तिहरुले त्यसलाई नकरात्मक दृष्टिले प्रस्तुत गर्नेछन्।’

‘फिल्मी करियर’ बाट राजनीतिमा हाम्फालेर राजनीतिमा मज्जैसँग रंगिएकी प्रदासँगको भेटमा ओलीले आफ्नो जेल जीवन र त्यसक्रममा प्रदाले नृत्य गरेको गीतका कारण आफू फ्यान भएको बताएपछि जया पनि ओलीको ‘फ्यान’ हुन पुगिन्।
कलाको सम्मान र निश्चल भावका साथ ठट्टा गर्नेले स्वभावबाट पनि सम्भवत जया ओलीसँग प्रभावित भइन्।राजनीतिक रुपमा पनि उनी ओलीसँग बिच्किनुपर्ने कारण किन बनेन भने उनी सदैव भारतको गैर(कांग्रेसी र गैर(भाजपा राजनीतिमा रहिन्। उनको आवद्धता त्यहाँको समाजवादी राजनीतिसँग रह्यो, जुन राजनीतिले नेपाललाई सदैव सम्मान गर्छ।

जया बेला बेला नेपाल आइरहन्छिन्। नेपाल आएका बेला उनले प्रम ओली र ओली पत्नी राधिका शाक्यलाई भेट्न छुटाउँदिनन्। केही बर्ष यता उनी ओलीको जन्मदिन नै पारेर काठमाडौँ आउने गरेकी छन्।उहाँ पोहोर पनि आउनु भएको थियो, त्यो बेला पनि प्रम ओलीलाई भेट्नु भएको थियो’ प्रेस संयोजक अधिकारीले भने, ‘पोहोर पनि उहाँ (जया) ले प्रधानमन्त्रीज्यूलाई जन्मदिनकै दिन भेटेजस्तो लाग्छ।’
जया र उनको टिमलाई सरकारले बिशेष सुरक्षा दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com