एनसेल कार्यालयमा बम विस्फोटपछि राजधानीको सुरक्षा व्यवस्था कडा,सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन
प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार
अज्ञात समूहले राजधानीको नख्खुस्थित एनसेलको कार्यालय परिसरमा बम विस्फोट गराएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ । प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ ।
ललितपुर प्रहरीका डीएसपी अपिलाल बोहराले बम विस्फोट भएको स्थानमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए । महानगरीय अपराध महाशाखा, ललितपुर प्रहरी र प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीसमेत घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।
शुक्रबार साँझ भएको सो विस्फोटमा परी तीन जना घाइते घाइते भएका छन् । उनीहरुको अल्का अस्पतालमा उपचार गरिएको छ। यसैबीच काठमाडौंको कमलपोखरीस्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेको छ। प्रहरीले शंकास्पद वस्तु बम हुने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएको छ।