भारतबाट नेपाल आउने इन्धनमा पानी र लेदो
प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

भारतबाट नेपाल आयत गरिने पेट्रोलियम पदार्थमा लेदो र पानी मिसवाट गर्ने गरिएको खुलासा भएको छ। वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोबाट डिजेल र पेट्रोल लिएर नेपाल भित्रिएका ट्याङ्करमा मंगलबार जाँच गर्दा पेट्रोलियम पदार्थमा फोहोरको लेदो र पानी फेला परेको हो।
वीरगन्जका पेट्रोल पम्पका सञ्चालकहरूले गरेको गुनासोको आधारमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले रक्सौल डिपोबाट इन्धन बोकेर वीरगन्ज भित्रिएका चार ट्यांकरको डिजेल र पेट्रोल चेकजाँच गर्दा लेदो र पानी भेटिएको हो।
अनुगमन टोलीमा शर्माका साथै नेपाल आयल निगम, खाद्य तथा गुणस्तरका कर्मचारी र पेट्रोलियम डिलर्स एसोसिएसनका पदाधिकारीको सहभागिता थियो।
वीरगन्जस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालय अगाडि रोकर राखिएका डिजेल र पेट्रोल बोकेको टयांकरमा जेकजाँच गर्दा पानी र लेदो फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
‘अनसन्धान भैरहेको छ, सकिएपछि धेरै कुरा खुलासा हुन सक्छ’, शर्माले भने। नेपालमा प्रयोग हुने कूल इन्धनको करिब ९० प्रतिशत इन्धन वीरगन्ज नाकाबाट भित्रने उनले बताए।