अमेरिकामा बुधबार हिमपात र बरफबर्षा, ११७ मिलियन प्रभावित हुने
प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

अमेरिकामा बुधबार हिमपात र बरफबर्षा हुने अनुमान गरिएको छ । जसबाट झण्डै ११७ मिलियन व्यक्ति प्रभावित हुने मौषमविदहरुले अनुमान गरेका छन् । हिउँ र बरफ मिसिएको बर्षा पूर्वी अमेरिकाका भागहरुमा विहिबारसम्म नै हुने जनाइएको छ ।
अमेरिकाको दक्षिण पूर्वीभागमा बाढीको समेत चेतावनी दिइएको छ । जसबाट झण्डै २० मिलियन व्यक्ति प्रभावित हुनेछन् । दक्षिणीभागमा बुधबार दिनभर बर्षा हुने अनुमान गरिएको छ ।
ओक्लोहोमा, कन्सास, शिकागो, इन्डिन्यापोलिस, लुइभिल, सिनसिनाटी, कोलम्बस, ओहायो, पिट्सबर्ग लगायतका क्षेत्रहरुमा हिमपात र बरफबर्षा हुने अनुमान गरिएको छ । नेब्रास्का, आयोवा, मिनेपोलिस लगायतका क्षेत्रमा १० इन्चसम्म हिमपात हुने अपेक्षा गरिएको छ ।
बाल्टिमोर र वासिंटन डिसीमा ६ इन्चसम्म हिमपात हुने अपेक्षा गरिएको छ । बिहिबारसम्म नै ती क्षेत्रहरु प्रभावित हुनेछन् । फिलाडेल्फिया र न्युयोर्कका कैयन भागमा पनि बुधबार दिउसोदेखि हिमपात हुने अपेक्षा गरिएको छ । बेलुका भने बर्षा हुने अनुमान छ । मेरिल्याण्ड र पेन्सिलभेनिया सिमाक्षेत्रमा बुधबार दिउसो ८ इन्चसम्म हिमपात हुने अपेक्षा गरिएको छ ।