कांग्रेसमा प्रवेश गर्ने नयाँ शक्ति पार्टीका सांसद तामाङलाई कारबाही सिफारिस


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

कांग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ । मंगलबार बसेको नयाँ शक्ति जिल्ला समितिको बैठकले कारबाहीका लागि सिफारिस गरेको हो ।

सांसद तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको जिल्ला संयोजक दावा तामाङले बताए । ‘कांग्रेससँग एकता गर्ने भन्ने गलत र भ्रामक हल्ला फैलाएको र कांग्रेसमा प्रवेश गर्ने भएपछि पार्टीका कुनै पनि जिम्मेवारीमा नहरने गरी कारबाहीका लागि केन्द्रमा सिफारिस गरेका छौँ,’ संयोजक तामाङले भने ।

नयाँ शक्तिका रसुवा पूर्वसंयोजकसमेत रहेका नेपाली प्रदेश सभा निर्वाचनमा रसुवा ‘ख’बाट निर्वाचित भएका थिए । नयाँ शक्तिसँग भएको गठबन्धनमा रसुवा ‘क’बाट कांग्रेसकै प्रभात लामा विजयी भएका थिए । त्यस्तै, प्रतिनिधिसभामा निर्वाचत कांग्रेसका मोहन आचार्यलाई पनि नयाँ शक्तिले सघाएको थियो ।

नयाँ शक्तिका प्रदेश सांसद तामाङ १३ फागुनमा हुने कार्यक्रममा कांग्रेस प्रवेश गर्न लागेका छन् । उनलाई सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बताए । उनीसँगै आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ पनि नयाँ शक्तिबाट कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।नयाँ पत्रिकाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com