न्युयोर्कमा माउन्ट एभरेष्ट वे, औपचारिक नामाकरणका लागि विशेष समारोह मार्च ९ मा - KHASOKHAS

न्युयोर्कमा माउन्ट एभरेष्ट वे, औपचारिक नामाकरणका लागि विशेष समारोह मार्च ९ मा

आगामी मार्च ९ मा न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई औपचारिक रुपमा माउन्ट एभरेष्ट वे नामाकरण गरिने भएको छ । सिटी काउन्सिल र न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासको आयोजनामा एक समारोहको आयोजना गरी औपचारिक रुपमा नामाकरण गरिन लागेको हो ।

उक्त दिनको कार्यक्रमलाई भब्य बनाउने विषयमा छलफल गर्न महावाणिज्यदूतावासले भोलि सोमबार दिउसो तीनबजे महावाणिज्यदूतावासमा छलफल कार्यक्रमको आयोजना गरेका छ । जसमा सहभागी हुनका लागि नेपाली समुदायका व्यक्तित्व र संघ संस्थाका प्रतिनिधीहरुलाई महावाणिज्यदूत पुष्प भट्टराईले अनुरोध गर्नुभएको छ ।

गत डिसेम्बरमा न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने न्युयोर्क सिटी काउन्सिलले निर्णय गरेको थियो । ७५ स्ट्रीटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव सिटी काउन्सिलबाट पारित भएको हो ।

उक्त प्रस्ताव न्युयोर्क सिटीका काउन्सिल सदस्य कोस्टा कोन्स्टानटिनिडेजले बैठकमा राखेका थिए । कोस्टाले न्युयोर्क सिटी काउन्सिलमा २२ औं जिल्लाको प्रतिनिधित्व गर्छन् । गत नोभेम्बर ११ मा एनआरएनए अमेरिकाको न्युयोर्क च्याप्टरले आयोजना गरेको सामुदायिक बैठकमा ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव गरिएको थियो । उक्त बैठकमा न्युयोर्क सिटी काउन्सिलका प्रतिनिधिको उपस्थीति रहेको थियो ।

७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गरिएकोमा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले काउन्सिल सदस्य कोष्टालाई विशेष धन्यवाद दिएका छन् । कोष्टाले न्युयोर्क राज्यमा ड्राइभर लाइसेन्स र आइडी फर्म नेपाली भाषामा भर्न सकिने व्यवस्थाका लागि समेत पहल गरेका थिए ।

अधिकारीले यादव बास्तोला लगायत नेपाली समुदायका सदस्यहरु र न्युयोर्क सिटी काउन्सिलका प्रतिनिधि जोय चौधरीलाई समेत विशेष धन्यवाद दिएका छन् ।

सोमवार, फाल्गुन ६, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com