अष्ट्रेलियामा नाक छेडेकै कारण स्कुलनिकाला भइन् हिन्दु बालिका
प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार
अष्ट्रेलियामा नाक छेडेकै कारण एक हिन्दु बालिका स्कुलनिकाला भएकी छिन् । हिन्दु परम्परा अनुसार नाक छेडेर फुली लगाएर उनी स्कुल गएकी थिइन् ।
अष्ट्रेलियाको पर्थ स्थित Aranmore Catholic College मा पढ्ने ती भारतीय बालिका सान्या सिंघल नाक छेडेका कारण पढाइबाट बन्चित भएकी हुन् । उनलाई स्कुलले स्कुलको ‘ड्रेसकोड’ भन्दा बाहिर गएकोले या त फुली निकाल्नुपर्ने या त स्कुल छोड्नुपर्ने बताएको थियो । ती बालिकाको समुदायमा पहिलो पटक रजश्वला हुँदा नाक छेड्नुपर्ने र त्यतिबेला लगाएको फुली या नत्थी बाह्र महिना सम्म निकाल्न नहुने मान्यता छ । त्यसैले उनी अहिले एक हप्ता देखि स्कुल जान पाएकी छैनन् ।
बालिकाकी आमाले छोरीको फुली लगाउने र आफ्नो संस्कृति मान्ने रहर भएकोले नाक छेडीदिएको बताएकी छिन् । उनले आफूले छोरीलाई कुनै करकापमा नपारेको स्पष्ट पारेकी छिन् ।
बालिकाकी आमाका अनुसार, पहिलो दिननै उनले नाक छेडेको फेशनको लागि नभएर हिन्दु संस्कृति हो भन्ने प्रष्ट पारेर प्रधानध्यापकलाई निवेदन पठाएकी थिइन् । उक्त स्कुलमा मुस्लिम धर्म मान्ने बालिकाहरु पनि पढ्छन् । ती बालिकाहरुले स्कार्फले टाउको ढाकेर जान्छन् । त्यस्तै, कतिपय बालबालिकाले आफ्नो कपाल कलर गरेका समेत छन् । तर फुली लगाउंदैमा ड्रेसकोडको मुद्दा उठाइनु अनौठो रहेको उनले बताएकी छिन् ।






