थोत्रो त्रिपालमुनि श्रवण-लक्ष्मीको प्रेम


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

यति चोखो यति मीठो दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा….

गोपाल योञ्जनले यो गीतमा कसको प्रेम कुँदे ? या आफ्नै प्रेम कथालाई गीतमा ढाले ? अहिले जवाफ पाउन मुस्किल छ । तर, श्रवण र लक्ष्मी मण्डलबीचको प्रेमलाई अनुभुत गरेपछि नारायण गोपालले यी हरफ उनीहरुकै लागि गाएको जस्तो लाग्छ ।

यो चिसोमा घरको सिरकभित्र पनि मानिसहरु कामिरहेका हुन्छन् । तर, श्रवण र लक्ष्मी खुला आकाशमुनि परालको बिछ्यौनामा कसरी दिन काटिरहेका होलान् ? मानिसहरु एक छाक खान नपाउँदा छट्पटाउँछन् । तर, कैयौँ दिन भोकभोकै श्रवण कसरी मुस्काउन सकेका होलान् ?

मानिसहरु सानो चोट लाग्दा ऐया आत्था गर्दै अस्पताल धाउँछन् । तर, ट्रकले हिर्काएर हल न चल भएकी लक्ष्मीले विनाऔषधी कसरी दिन गुजार्न सकेकी होलिन् ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानिसहरु एकछिन झरीमा रुझ्दा शरीरको पार्टपुर्जाले राम्रोसँग काम गर्न छाड्छ । तर, गतिलो हावा नछेक्ने झिलापित्रा त्रिपालमुनि दिनहुँ लुछुप्पै परेर कसरी स्वास फेरिरहेका होलान् श्रवण-लक्ष्मी ? कल्पना मात्र गर्दा पनि आङ सिरिंग भएर आउँछ ।

लाग्छ, यो अद्भुत शक्ति उनीहरुबीचको प्रेमकै देन हो । र, नाफा-घाटामा प्रेमको व्यापार गर्ने आधुनिक मानिसहरुका लागि यसरी चरम अभावबीच पनि प्रेम जीवितै रहन सक्छ भन्ने ठूलो सन्देश हो ।

मोरङको बुढीगंगा-२ स्थित एउटा नहर छेउमा छ श्रवण र लक्ष्मीको ‘निवास’ । नुगाईएका दुई तीनवटा बाँसका दाउरामा राखिएका केही थोत्रा त्रिपाल र तन्ना नै उनीहरुको घर-संसार हो । जहाँ एउटा थाल, कचौरा, खाना पकाउने कसौडी र थोत्रो बाल्टी र तुम्लेट छन् । उनीहरुसँग सम्पत्तिको नाममा यत्ति त छ ।

यही घरमा ५५ वर्षकी लक्ष्मी प्रायः सुतिरहेकी हुन्छिन् । मस्तिष्कमा भएको ट्युमरले दाहिने आँखा पूरै टालिएको छ र निधारमाथि ठूलो मासुको डल्लो छ । प्यारालाइसिस पनि उनैलाई दुःख दिन आइपुगेको छ । चल्दैन देब्रे हर । उठेर बस्न सक्दिनन् लक्ष्मी । कसैले उठाइदिनुपर्छ । हिँड्न सक्ने त कुरै भएन ।

झरीमा रुझिरहने उनका कपालले काँइयो नदेखेको वर्षौं भैसक्यो । मधुरो सेतो स्वीटर र खुइलिएको नीलो कमिजले जाडो भगाउन मुस्किल पर्छ ।

विहान उठेपछि ६० वषिर्य श्रवणको पहिलो काम श्रीमतीको स्याहार हो । सबैभन्दा पहिले श्रीमतीको सुरुवाल खोलिदिन्छन् र प्याड परिवर्तन गर्छन् । दाउरा सल्काएर चिया पकाउँछन् । अनि साँचेर राखेको चिउरा वा बिस्कुटको टुक्रा खुवाउँछन् । लक्ष्मी आफैले खान सक्दिनिन्, श्रवनले खुवाइदिनुपर्छ । केही बाँकी रहे आफूले पनि खान्छन् । नत्र, पेटभरि पानी पिउँछन् र बाहिर निस्कन्छन् । श्रवण हाँस्दै भन्छन्, ‘म त बलियो छु पानी पिएर दिनभर बाँचीहाल्छु नी ।’

श्रवणसँगै निस्कन्छन् उनका पाँच कुकुर – सानु, राती, पांग्रे, काली, लुती । जुन उनको रक्षा कवच हुन् । अहिले उनीहरुका सन्तान भनेकै यीनै कुकुर हुन् ।

श्रवणको एउटा हातमा त्रिशुल हुन्छ, अर्कोमा सानो भाँडो । जटा कम्मरसम्म अइपुगेको छ, आधा फुलेको दाह्री छातीसम्म । निधारमा खरानी धर्सा, घाँटीमा खोइ केको माला । आधा हर रित्तै छ, आधामा कालो कछाड बाँधेका छन् । तीन वर्ष भयो श्रवणले यसरी बाबाको भेष धारण गरेको ।

उनी घर-घर पुगेर भीख माग्छन् । कसैले चामल दिन्छन्, कसैले एक दुई रुपैयाँ । कसैले दिएको थोत्रा सारी र कुर्ता सुरुवाल पनि बोक्छन् । प्रायः दिनको दुई-तीन बजे लक्ष्मीसम्म आइपुग्छन् श्रवण । लक्ष्मी झिंगा धपाउँदै भोको पेटसँग उसरी नै सुतिरहेकी हुन्छिन् । र, लक्ष्मीले प्रेमिल स्वरमा उठाउँछन्, ‘बाबु लक्ष्मी, उठ ।’ श्रवणलाई देखेपछि आलस्य लक्ष्मीको अनुहारमा चमक भरिन्छन् । लक्ष्मी कुकुरतिर हेर्दै भनिन्छन्, ‘कुत्ताले के खायो ?’

यतिबेलासम्म लक्ष्मीको शरीरमै दिसा पिसाब हुन्छ । श्रवणले प्याडसहित कम्मरमुनिको कपडा खोलेर नहरमा फ्याकिदिन्छन् र मागेर ल्याएको अर्को कपडा फेरिदिन्छन् ।

‘कपडा पनि कहिले दिन्छन् कहिले दिदैनन् । अहिले सारी च्यातेर बाँधिदिएको छु’, श्रवणले याचना गरे, ‘यिनलाई साह्रै दुःख छ । एउटा ह्वीलचियर मिलाइदिनु न, दिसा-पिसाबको लागि सजिलो हुन्छ, कहिलेकाँही घुमाउन पनि पाउँछु ।’ श्रवणलाई आफ्नो होइन श्रीमतिको चिन्ता छ ।

फेरि उनलाई खाना पकाउनको हतार हुन्छ । भाँडा र चाउचाउको प्लाास्टिकमा पोको पारेर ल्याएको चामल र तरकारी पकाउन कसिन्छन् । एउटै थालमा लक्ष्मी र आफूले खान्छन् । श्रवण बोल्छन्, ‘म भोको भएर पनि उनलाई खुवाउँछु । हामी दुवै भोकै बसेका दिन पनि गनिसाध्य छैनन् ।’

श्रवण ६ वर्षको हुँदा आमाले छोडेर गइन् । उनको जमिन थिएन । त्यसैले मोरङकै साहुको घरमा काम गर्न थाले । भाडा माझ्नेदेखि गाईबस्तु स्याहार गर्नेसम्मको काम थियो उनको । ६ कक्षासम्म पढे पनि । जब उनका मालिक रहेनन्, विस्तारै उनका लागि पनि त्यो घर बिरानो हुन पुग्यो ।

र, उनी बनारस पुगे । ब्राम्हण ज्ञानका लागि पुगेका थिए उनी बनारस ।

२४ वर्षको लक्का जवान भएपछि नेपाल फर्किए । त्यहीबीचमा साथीहरुसँग लक्ष्मीको हात माग्न गए, श्रवण । लक्ष्मीको घर कठारी ८ विराटनगरमा थियो । लक्ष्मीलाई लिएर मोरङको दक्षिणस्थित कालिका मन्दिर पुर्‍याए । त्यहीँ विहे गरे र त्यसैको छेउमा छाप्रो हालेर बसे ।

परिवार त पाल्नुपर्‍यो ! त्यसैबेला उनी रिक्सा चालक बने । दिनभरी रिक्सा हाँकेर बेलुकी घर फर्कन्थे । श्रीमतीको अनुहारले जीवनको सबै दुःख भुलाउँथ्यो श्रवणको । ‘मैले उनलाई कहिल्यै काम गर्न दिइनँ । सकेसम्म सँधै मासु भात नै खुवाउँथेँ’, श्रवण अतितमा पुग्छन् ।

अपसोच, लक्ष्मीको निधारको आकार बढ्दै गयो । श्रवणले भरतपुर क्यान्सर अस्पतालसम्म पुर्‍याए । तर, डाक्टरले भनिदियो, ‘टाउकोभित्र हाड उम्रिएको छ, अप्रेशन गर्न मिल्दैन ।’ ‘त्यतिबेला राजा वीरेन्द्रको सरकार थियो र स्वास्थ्यमन्त्री पनि हस्पीटल आउनुभएको थियो’, श्रवणसँग सम्झना ताजै छ, ‘मन्त्रीजीले मेरो जहानलाई पनि हेर्नुभएको थियो ।’

केही वर्षपछि प्रेमको नासो छोरालाई जन्म दिइन् लक्ष्मीले । उनीहरुले मायाले नै हुर्काए । तर, छोराले विहे गरेेपछि बुहारीलाई आमा मन परेन । घिन लाग्यो । विस्तारै छोरालाई पनि आमा-बा मन पर्न छोड्यो ।

‘उसले हेला गर्न थाल्यो । कतिपटक भाग्न खोज्यो,’ श्रवण भन्छन्, ‘कतिपटक हात नै हाल्न आइपुग्यो । त्यसपछि जहाँ जान्छस् जा भनिदिएँ ।’ छोरा बुहारी अलप भए, झुपडीको सदस्य श्रवण-लक्ष्मी र कुकुर मात्र भए ।

श्रवणको पेसा उस्तै थियो जोगवेनीदेखि बिराटनगरसम्म रिक्साको ह्यान्डल बटार्ने । तर, १३ वर्षअघि श्रीमतीलाई ट्रकले हानेर देब्रे खुट्टा र हात बाँचिदियो । श्रवणसँग उपचार गर्ने ल्याकत भएन । भन्छन् नी, दशाले पनि दुःखीलाई नै खेद्छ । हो त्यस्तै भयो श्रवण दम्पत्तीलाई ।

तर, श्रवणले सकेसम्म श्रीमतीलाई सकेसम्म स्याहार दिए । बेला-बेला आफ्नो रिक्सामा राखेर डुलाउन निस्कन्थे । जीवनले जे दिन्छ त्यसैमा सन्तुष्ट नै थिए । श्रवण-लक्ष्मीमाथि फेरि अर्को बज्र आयो । श्रवणमाथि नै डाकु लाग्यो, २४ हजार रुपैयाँसहित रिक्सा लुटियो । अब श्रवणसँग प्रेमबाहेक अर्थोक बाँकी रहेन ।

केही दिन त मागेरै खाए । केही समयपछि उनले श्रीमतीलाई बोके र कुकुरलाई अघि लाउँदै हलेसी पुगेर बाबाको ज्ञान लिए । अनि बने – अघोरी बाबा । श्रवण भन्छन्, ‘रहरले कोही जोगी बन्दैन । विपत्ले बनाउँछ बाबा ।’

अनि उनको ठेगान भएन । कहिले काशी पुगे त कहिले नयाँ दिल्ली । र, तीन वर्षपहिले यो नहर छेउ आईपुगेका छन् ।

यो झुप्रोमा उनीसँग पानी पिउने ग्लास छैन । श्रवण भन्छन्, ‘कसैले दुई प्लेट र एउटा तुम्लेट दिएका थिए । अब त त्यो पनि पुरानो भैसक्यो । केही छैन, न घर छ न द्वार ।’ उनीसँग एउटा फोहोर बाल्टी छ । नहरबाट पानी उठाएर लिउँछन् र त्यही बाल्टीबाट पिउँछन् ।

तर, पोहोर साल त्यही नहरमा बाढी आयो । उनले संगालेका झुत्रा कपडा र झुप्रो सबै बगाएर लग्यो ।

‘त्यतिबेला खुला आकाशमुनि बस्यौँ । कलेजका विद्यार्थीले दिएका विस्कुट खायो, कहिले होटेलले नै खान दिन्थे’, श्रवण फिस्स हाँस्छन् । धेरै गुमे पनि उनको अनुहारबाट हाँसो गुमेको छैन । कस्तो अचम्म, परिस्थिति जस्तो होस्, मुस्काउन त सकिँदो रहेछ नी ।

लक्ष्मीको अनुहारले पनि पीडा बताउँदैन । अब त बानी पनि परिसक्यो होला । बरु कहिलेकाहीँ श्रवणलाई गाली गर्छिन्, ‘मेरो छोरालाई कहाँ हालिस् ? छोराले हेर्थ्यो होला नि !’ अनि कहिलेकाँही रिसाउँदै भन्छिन्, ‘मेरो लागि किन यति धेरै गर्छस् ।’ श्रवण मौन बस्छन् ।

श्रवणले आफ्नो श्रीमतीसँगको मौनता हामीसँग तोडे, ‘हामी त सँगै जिउने सँगै मर्ने भनेर विहे गरेका हौँ । उसको प्राण र मेरो प्राण एउटै हो ।’ त्यसैले त लक्ष्मी उनको लागि कहिल्यै बोझिलो बनिनन् । श्रवणले आफ्नो सबैभन्दा ठूलो पीडा बिसाउँछन्, ‘म बिरामी भै हाले भने यिनी त मर्छिन् ।’

एमबीबीएस पढ्दै गरेका अविनास मण्डलले श्रवन-लक्ष्मीलाई देखेपछि केही समयपछि सहयोग गर्न पुगेका थिए । उनकै पहलमा अहिले एउटा टेन्ट पनि आइपुगेको छ । उनले लक्ष्मीको स्वास्थ्यबारे ख्याल पनि राख्छन् ।

लक्ष्मीको स्वास्थ्यबारे अविनास भन्छन्, ‘उनको टाउकोमा पानी जमेको छ । परीक्षणपछि मात्र थाहा हुन्छ कि उपचार हुन्छ हुँदैन ।’ हामी पनि अविनासकै सहयोगमा श्रवणको सम्पर्कमा पुगेका थियौँ ।

हुन त अहिले पनि लक्ष्मीको माइती घर छ । उनका भाइ पनि छन् । तर, कहिल्यै लक्ष्मीलाई भेट्न आएका छैनन् । छोरा-बुहारी मुम्बईमा भएको सूचना छ श्रवणसँग । तर, उनीहरुबाट केही आश भने छैन । भन्छन्, ‘१२ छोरा १३ नाति बुढाको धोक्रो काँधैमाथि भनेजस्तो भएको छ ।’

बरु घरबाट निस्कँदाको कुकुरले चार सन्तान जन्माएर गई । तिनै कुकुर श्रवण दम्पत्तिका असली सहारा बनिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com