‘मिनरल’का बोतल प्रयोग गरी विद्यालय भवन निर्माण गरिँदै


प्रकाशित मिति : २७ माघ २०७५, आइतबार

दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालोखोलाको भवन ‘मिनरल वाटर’का बोतल प्रयोग गरी निर्माण गर्न थालिएको छ । बिगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त विद्यालयको भवनलाई टिच फर नेपालका स्वयंसेवकले जथाभावी फालिएका मिनरल वाटरका बोतल प्रयोग गरेर निर्माण शुरु गरेका हुन् । दाङमा पहिलो पटक यस्तो खालको भवन निर्माण हुन थालेको छ ।

विसं २०६७ देखि अलपत्र परेको भवन निर्माणकार्यलाई टिच फर नेपालका स्वयंसेवक, उक्त विद्यालयका विद्यार्थी, शिक्षकले खेर गैरहेका प्लाष्टिकको बोतलबाट भवनको दुई कोठा निर्माण गर्न शुरु गरेका हुन् ।

टिच फरका विसं २०७६ को नयाँ शैक्षिकसत्रदेखि देशभरका विभिन्न स्थानमा स्वयंसेवक शिक्षकका रुपमा जान लागेको भन्दै उहाँहरुलाई समाजसँग घुलमिल गराउनका लागि उक्त अभियानान्तर्गत शनिबार भवन निर्माणको थालनी गरिएको कार्यकारी प्रमुख शिशिर खनालले बताउनुभयो ।

उहाँका अनुसार पहिलो दिन लामो समयदेखि अर्थाभावमा निर्माण गर्न नसकिएको उक्त विद्यालयलाई आफँै सक्रिय भएर पनि निर्माण गर्न सकिन्छ भन्ने चेतना दिन श्रमदान गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले बजारमा जथाभावी फालिएका बोतलबाट भवन निर्माण गर्न सकिने र कम खर्चिलो हुने भन्दै विद्यालयमा मिनरलको बोतमा बालुवा, सिमेन्ट, माटो मिसार भर्ने अनि सुकाएर इँटाको रुपमा प्रयोग गरेर भवन निर्माण गर्न सकिने बताउनुभयो ।

आफ्ना स्वयंसेवकलाई आवासीय तालीम, समुदायसँग घुलमिल गर्ने अभ्यास दिन विद्यार्थीकै घरमा बस्ने, त्यहाँको वातावरण अवगत गराउने गरेको उहाँको भनाइ छ । देशभरिका करीब १०० स्वयंसेवकले दिनभर भवन निर्माणको काम गरेका हुन् ।

त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले रु दुई लाख, टिच फर नेपालले रु एक लाख र सोना सिमेन्टले ३० बोरा सिमेन्ट उपलब्ध गराउने आश्वासन दिएका छन् । अहिले ७०० भन्दा बढी विद्यार्थी रहेकाले कक्षाकोठा अभाव रहेको उहाँको भनाइ छ ।रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com