जापानमा चिसो हावाको लहर, टोकियोमा हिमपातको सम्भावना उच्च
प्रकाशित मिति : माघ २६, २०७५ शनिबार
जापानको होक्काइदो शहरमा चिसो हावाको लहर चलेको छ । होक्काइदोसंगै जापानका धेरै क्षेत्रमा चिसो हावाको बहाव चलेको छ । यसबाट त्यहाँको तापक्रम न्यून बन्नुका साथै शनिवार भारी हिमपातको सम्भावना पनि देखिएको छ ।
यसले जापानको उत्तरी क्षेत्रको ट्राफिकलाइ पनि प्रभावित पारेको छ । त्यहाँको केही क्षेत्रको तापक्रम २० डिग्री सेल्सियससम्म पुगेको र शनिवार पूर्वी जापानतिर हिमपातको सम्भावना पनि रहेको जापान मेट्रोलोजिकल एजेन्सीले अनुमान गरेको छ ।
मध्य टोकियो लगायत दक्षिणी कान्तो क्षेत्रका विभिन्न स्थानमा १० सेण्टिमिटरसम्म र उत्तरी कान्तोका क्षेत्रहरुमा २० सेन्टिमिटरसम्म हिमपातको सम्भावना रहेको छ । मौषम विभागका अधिकारीहरुले चिसो हावाको लहर र भारी हिमपातका कारण हुनसक्ने जोखिमहरुमा सतर्क रहन भनेका छन् । उनीहरुले हिमपातका कारण सडक, रेल तथा हवाई यातायातमा पर्नसक्ने असुविधाका लागि पनि तयार रहन सचेत गराएका छन् ।
माइनस २४ डिग्री सेल्सियसको चिसो हावाको बहाव सन् १९५७ देखि तथ्यांक राख्न थालेयताकै सबैभन्दा न्यून हो । होक्काइदोको साप्पोरोको शुक्रबार विहानीको तापक्रम माइनस १२ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो । त्यस्तै साप्पोरोको अर्को शहर ओकेतोको तापक्रम माइनस २२ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसबाट त्यहाँका अधिकांश यातायात समेत प्रभावित बनेका थिए ।






