न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा पुष्प भट्टराई महावाणिज्यदूत, नेपाली संस्थाको विवरण आब्हान


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासमा पुष्प भट्टराई महावाणिज्यदूत हुनुभएको छ । यसअगाडि उहाँ कार्यकारी महावाणिज्यदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो । महाबाणिज्यदूत मधु मरासिनी नेपाल फर्किसकेपछि खाली रहेको महाबाणिज्यदूतको पद अहिले भट्टराईले सम्हाल्नुभएको हो ।

उपसचिव पदमा झण्डै ६ बर्षदेखि सेवा गरिरहनुभएका भट्टराईले महावाणिज्यदूतको रुपमा कार्यभार सम्हालेलगत्तै महावाणिज्यदूतको हैसियतबाट वक्तब्य जारी गर्दै न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा रहेका नेपाली संघ संस्थाहरुको विवरण आब्हान गर्नुभएको छ । कन्सुलेटले आयोजन गर्ने कार्यक्रम, छलफलमा आमन्त्रण गर्नका लागि विवरण अद्यावधिक गर्नुपर्ने भएकाले त्यस्तो विवरण पठाउन आब्हान गरिएको हो ।

सम्बन्धित संघ संस्थाको पूर्ण विवरण भएको लेटर प्याडको फोटो खिचेर कन्सुलेटको इमेल ठेगानामा पठाउन सकिने वा संस्थाको नाम, ठेगाना, इमेल, प्रमुख पदाधिकारीहरुको नाम र ठेगाना कन्सुलेटको इमेल ठेगाना events.cgnny at gmail.com मा पठाउन सकिने भट्टराईले जारी गर्नुभएको वक्तब्यमा उल्लेख छ । आगामी हप्तादेखि नै कार्यक्रम आयोजना गर्न लागिएकाले नामावली प्राप्त नहुने संस्थालाई निमन्त्रणा पठाउन नसकिने उहाँको भनाई छ । उहाँले सबै सामाजिक, आर्थिक र व्यवसायिक संघ संस्थालाई शुक्रबारसम्म विवरण पठाउन अनुरोध गर्नुभएको छ ।

हाल न्युयोर्कमा नेपाली कन्सुलेटमा नेपाल सरकारका तीनजना कर्मचारीहरु कार्यरत रहेका छन् । वाणिज्यदूतका रुपमा शाखा अधिकृत कृसु क्षेत्री कार्यरत हुनुहुन्छ भने उपवाणिज्यदूतका रुपमा नासु शोभा डुम्रे कार्यरत हुनुहुन्छ । यसअगाडि महावाणिज्यदूतका रुपम कार्यरत मधु मरासिनी सहसचिव हुनुहुन्थ्यो ।

न्युयोर्कमा रहेको राष्ट्रसंघको लागि नेपाल मिसनको कार्यालयमा प्रमुखका रुपमा सहसचिव अमृत राई आउनुहुने भएको छ । मिसन प्रमुखमा सहसचिव आउन लागेको यो नै पहिलोपटक हो । यस अगाडि परराष्ट्रमन्त्रालयका सचिव स्तरका कर्मचारीलाई मिसन प्रमुखको जिम्मेबारीसहित पठाउने गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com