आफूले नजन्माएका ४२ छोराछोरीकी ६५ बर्षीया साबित्री आमा - KHASOKHAS

आफूले नजन्माएका ४२ छोराछोरीकी ६५ बर्षीया साबित्री आमा

✍ अरुणा रायमाझी

साबित्री आमा ! उमेरले ६५ वर्षको हुनुभयो । तर,उहाँको खटन पटन अहिले पनि लोभ लाग्दो छ । सामान्यतय यो उमेरमा मानिसहरु धेरै झन्झट लिन चाहदैनन् वा सक्दैनन् पनि !

तर, साबित्री पोखरेल आमाको कथा फरक छ ।

उहाँलाई सधै उज्यालोले पच्छाईरहेको हुन्छ । सुर्यले होइन, सुर्यलाई उहाँले जगाउनुहुन्छ । आमा समयसँग होइन, समय आमासँग दौडिएको छ । त्यसैले, त अहिले पनि उहाँको काखमा ४२ जना अनाथ मुनाहरु खिलखिलाई रहेका छन् ।

यो उमेरको आमा, बालबालिकाको लागि नाना, खाना र सुन्दर भविश्य बनाउने अठोट बोकेर दिनरात खटेको सुन्ने र देख्नेहरु अचम्म पर्दछन् ।
अझ,‘क’ नपढेको बृद्धा आमाका सन्तानहरुकोे पढाई सुन्नेहरु, पहिलो पटक न त लख काट्न सक्छन्, न त विश्वास नै गर्दछन् ।

हो, साबित्री आमाका ठूला छोराछोरीहरु कोही डाक्टर, कोही इन्जिनियर, कोही नर्स, कोही अनमि,  कोही फार्मेसी, कोही एच.ए, त कोही ल्याब पढ्दैछन् । सबैभन्दा साना बाबुहरु मन्टेश्वरी जान्छन् । आमा सबै बच्चाहरुलाई ‘फि’ तिरेरै पढाउनु भएको छ । अपवाद नै भर्नाैँ यो वर्षदेखि सुशिला सिर्पाली ठकुरीको पहलमा एक जना नानीले स्कलरशीपमा इन्जिनिर पढ्दैछन् ।  बरु ठूला नेता, समाजका वोलबाला र आफूलाई हाईफाई हुँ भन्नेहरु आफ्ना छोराछोरी गरिब जनताको कोटामा पढाएको पाइन्छ ।

यी सबै सुन्दा तपाई हामीलाई लाग्न सक्छ, त्यसो भए आमाले ठूलै बिदेशी डोनर हात पारेछन् ! नत्र कसरी पढाउँछन् ? तर, त्यो पटकै होइन । यो आश्रम पनि नेपालीहरुको मानो मुठ्ठिबाट अहिलेसम्म चलेको छ । देश विदेशमा रहेका मनकारी नेपाली दाजुभाई दिदी बहिनीहरुले आफ्नो गास काटेर पठाएको पैसाले यी अनाथहरुको फि बुझाउनु हुन्छ आमा ।

नियमित आय श्रोत छैन । आश्रामको सबैभन्दा ठूलो डोनर भनेका लोकमानसिंह कार्की हुनुहुन्छ । उहाँले हरेक महिना चार बोरा चामल र १० लिटर तेल दिँदै आउनुभएको छ । यो सहयोग उहाँले स्थापनाकालदेखि गर्दै आउनु भएको रहेछ । यस्तै अन्य मनकारी नेपालीहरुले आश्रमलाई सहयोग गर्दै आउनुभएको छ । उहाँहरुकै साथ सहयोगले अभिभावक विहिन बालबालिकाहरुले समयमा तातो खान, न्यायो लगाउन र स्कुल जान पाएका छन् ।

नेपालीहरुको थोरै, थोरै सहयोग जम्मा गरेर यी बच्चाहरुको भविश्य उज्ज्वल बनाउने बाटोमा हिँडेकी साबित्री आमाको कामलाई जति प्रशंसा गरेपनि कमी नै हुन्छ ।

अर्कोकुरा, समाजसेवामा ‘लाग्नु’ र ‘पल्किनु’मा फरक छ, है भन्ने गतिलो उदाहरण पनि हो, साबित्री आमाले सञ्चालन गरेको, नवकिरण अनाथ असहाय बाल उत्थान समाज ।

यो आश्रममा जतिपनि मनकारी नेपालीहरुले सहयोग गर्नुभएको छ, तपाईले पसिना बगाएर कमाएको पैसाबाट चुडेर दिएको सहयोग सही ठाउँमा पुगेको छ । नत्र, समाजसेवामा ‘लाग्ने’ भन्दा ‘पल्कने’हरुको विगविगी बढेको छ । अनाथको नाममा डलरको खेती गर्नेहरु चिल्ला कारमा हुँईकीरहेका छन् । तर, यी बुढी आमा बालबालिकाको लालन पालन र शिक्षामा आफूले सक्ने हर कोशिस गरेकै हुनुहुन्छ ।   यो संस्थाको जतिपनि सम्पत्ति छ, आमाले ट्रस्टको नाममा गरिसक्नु भएको छ । बच्चाहरुको पढाईको लागि अहिलेसम्म सहयोग गर्ने मनकारी नेपालीहरुको नाम बुकलेटमा प्रकाशित गर्नु  भएको रहेछ ।

औपचारिक शिक्षाको हिसाबले स्कुलनै नकुचेकी यी आमालाई मानिसको जीवन र समाजलाई समृद्ध बनाउन शिक्षाको ठूलो भूमिका हुन्छ भन्ने राम्रोसँग थाहा छ । त्यसैले उहाँ  छोराछोरीहरुको उच्च शिक्षाका लागि अहिले धेरै नै चिन्तित हुनुहुन्छ ।

उहाँले भन्नुभयो ‘बच्चाहरुलाई १० कक्षा पास गराएर छोडौँ, चिन्ता लाग्छ, बच्चा बिग्रने बेला त्यही हो । आमा छैन, बुबा छैन्, अझ छोरीहरु घरभन्दा बाहिर सुरक्षितनै छैनन् । उनीहरुलाई छोड्नै मिल्दैन । उनीहरुलाई सुरक्षित गर्ने भनेको राम्रो शिक्षा दिने र आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु हो । शिक्षा महंगो छ । अहिले बच्चाहरुको फिस बुझाउन निकै गाह्रो भएको छ । आशा छ, देशविदेशमा बस्ने र तपाईको पत्रिका पढ्ने सबैले मेरो अप्ठ्यारोमा साथ अवश्य दिनुहुनेछ ।’
आश्रमका नानीबाबुहरुको कथा उस्तैउस्तै हो । तर, चाहना भने फरकफरक छन् । उनीहरुको इच्छा चाहना पुरा गर्न ६५ वर्षिय यी आमाको प्रयासलाई सबैले साथ दिनुपर्दछ ।

साबित्री आमा भन्नुहुन्छ ‘बिहानै उठ्छु । बच्चाहरु साना छन्, उनीहरुको हेरचाह, स्यारसुसार गर्नुपर्यो । ठूला थरे पाँचबजेदेखि कलेज जाने तयारी गर्दछ । खाजा खुवाउनु पर्यो । उनीहरुको लागि खाना र खाजा खर्च दिनुपर्यो । ड्रेस कस्तो लगाएका छन्, सफा छ कि छैन् ? उत्तौलो पो ! लगाएका छन् कि ! ध्यानदिनु पर्यो ।’ अनाथ, असहाय बालबालिकाकी ६५ वर्षिय यी आमालाई थकाई त लाग्छ होला नि है ! तर, नानीबाबुहरुको अगाडि ऐया समेत भन्दैनन् आमा !
स्कुलबाट पढेर आएको ६ बर्षको बाबुले दिदीको सहारामा ड्रेस फेरेर घरको कौशीबाट ठूलो स्वरमा आमालाई थर्काउँदै भन्यो ‘आमा तपाई छिटोमाथि आउनुस् भनेको ।’

त्योबेला साबित्री आमा हामीसँग कुरागर्दै हुनुहुन्थ्यो । उहाँको ध्यान मेरो प्रश्नले होइन, बाबुको तोतेबोलीले तान्यो, ‘बाबु तिमी खाजा खाउ,म एकैछिनमा आउँछु छोरा ।’ बाबुको अनुहारमा प्रष्ट देखिन्थ्यो, जवाफ चित्त बुझेको थिएन ।

सायद त्यो मासुमले साबित्री आमाको मायालु स्पर्स खोजिरहेको थियो,जुन समय हामीले खोसिदिएका थियौँ । उसले निकैबेर हामीलाई हेरिरह्यो ।
यसले पनि बुझाउँछ, साबित्री आमा छोराछोरीलाई निकै माया गर्नुहुन्छ ।

दानीलाई हानी हुँदैन

‘नानी मेरो बाल्यकाल र युवा अवस्था त भोकोलाई खाना र नांगोलाई लुगा बाँड्दैमा बित्यो, अरु चाहना केही थिएन ।’ आमाले बाल्यकाल सम्झदै भन्नुभयो,‘घरबाट लुगा लाएर निस्केको मान्छे, फर्कदा नांगै हुन्थें । कैयौँ पटक आफ्ना लुगा खोलेर अरुलाई दिएका घटना छन् । उनीहरुको अवस्था देख्दा मनले मान्दैनथ्यो, दिन्थे ।

गरिबहरुलाई लुगा र खाना बाँड्दै हिड्दा फूपुहरु कराउनुहुन्थ्यो तर, बुबाले भन्नुहुथ्यो ‘हुन देऊ । दानीलाई, हानी हुँदैन ।’
त्योबेला उहाँका बुबा राष्ट्रिय पंचायतको सभापति हुनुहुन्थ्यो ।

आमा स्कुल किन जानुभएन ? तपाईको परिवार त सम्पन्न थियो होइन ? भन्ने हाम्रो प्रश्नमा मुस्कुराउँदै भन्नुभयो, ‘आफ्नो लागि पढ्नुपर्छ भन्ने ध्यान कहिल्यै आएन, जसरी हुन्छ, गाउँघरका गरिबहरुलाई खानदिनु पाए हुने, लुगा दिनुपाए हुने भन्नेमा ध्यान गयो ।’

ढोका बाहिरका कैयौ रात

उहाँको विवाह १८-१९ वर्षको उमेरमा ललितपुरमा भएको रहेछ । आमा विवाहपछि त, अरुलाई सहयोग गर्नु गाह्रो भए होला नि ? हामीले अर्को प्रश्न गर्यौँ, प्रश्नको जवाफमा केही छिनको मौनतापछि मुस्कुराउँदै भन्नुभयो, ‘मेरा विगत धेरै संघर्षमा बिते नानी ! पटक—पटक घरबाट निकालिदिए, अहिले जस्तो माईती जानु मिल्दैनथ्यो ऊबेला । घरको ढोका बाहिरको छेउमा बसेर कैयौँ रात काटें । कति पिटाई पनि खाँए होला ।’ यत्तिकैमा फेरी हाँस्नुभयो साबित्री आमा ।

उहाँको हाँसोभित्र त्योबेला गरेको संघर्षमा भोग्नु परेका पीडा छचल्कीएका थिए । आफैप्रति प्रश्न गर्दैभन्नुभयो ‘लगाएको लुगा खोलेर,गरिबलाई दिने र पेटीकोटको भरमा घरमा आउनेलाई कस्ले माया गर्ने, कमाएर ल्याएको भए पो माया गर्ने ?’

अहिले त महिलाको दक्षता र क्षमतामाथि प्रश्न गर्ने यो समाजले पेटीकोट मात्र लगाएर घरमा आउने  महिलालाई ऊबेला कति मानसिक तनाब दिए होला ? समाज र परिवारले जति दुःख दिएपनि साबित्री आमाका कदमपछि हटेनन् ।

उहाँले सुनाउनुभयो ‘मेरो कामले परिवार खुशी थिएनन्, रोक्ने धेरै कोशिश गरे । तर, म दिनदुखीको सहयोग गर्नबाट पछि हटिन् । म त त्यही घरमा लडेर बसेँ । समाजसेवा छोडिन ।’

साबित्री आमा, संघर्षका अनेकन छालहरुमा तैरदै यहाँसम्म आउनुभएको हो । । उहाँ समाजसेवाको क्षेत्रमा पूर्ण रुपमा समर्पित भएको दुई दशक पुरा भयो ।

उहाँले भोलिको लागि आफूलाई केही चाहिन्छ भनेर कहिल्यै चिन्ता गर्नु भएन । आफूले खाँदै गरेको खाना गरिबको छोराछोरीलाई दिएर,उनीहरुले खाएको हेर्दा आनन्द लाग्दथ्यो रे साबित्री आमालाई । आमाको त्यो बानी अहिलेसम्म गएको छैन । उहाँको घरमा पुग्नेहरु केही नखाई निस्कनै पाउँदैनन् ।

आमा छोराछोरीहरुको खानामा निकै ख्याल गर्नुहुँदोरहेछ । दिनमा चारपटक आफै बसेर खुवाउनुहुन्छ । उहाँको कान्छी छोरी भन्दैथिइन, ‘आमाको अगाडि खान्न भन्न पाइदैन । नानीहरुलाई बिहान ६ बजेबाट खुबाउनु थाल्नुहुन्छ । बच्चाहरु पनि त्यस्तै छन्, दिनमा चारपटक खान पाएनन् भने ढल्लान जस्तो गरेको देख्दा पो अचम्म लाग्छ ।’ तर, आमा भने एक छाक मात्र खानुहुन्छ । नानीहरु आमालाई प्रश्न गर्दारहेछन्, तपाई एक पटक मात्र खानुहुन्छ, हामीलाई मात्र किन खुवाउनुहुन्छ  ?…….

जसलाई सहयोग गर्दा आमा घर निकाला हुनु परेको थियो, अहिले उनीहरु ‘मायाको खानी’ भन्दै आश्राममा भेट्न आउँछन् रे । अहिले त तपाईलाई सहयोग गर्दछन् होला नि भन्ने हाम्रो जिज्ञासामा आमा भन्नुहुन्छ ‘के सहयोग गर्ने ? अवस्था छैन होला नि ! सके मैले आफै सहयोग गर्छु ।’

पेटीकोटमा घर फर्कदा

‘रत्नपार्क छेउमा बेबारीसे महिला सुत्केरी भएको देखेपछि धोती फुकालेर दिएँ । म पेटीकोटमा घर आएँ । त्यो दिन मलाई देख्ने सबैले बहुलाई भने ।’
अचम्मको कुरा उहाँलाई आफ्नै साथीले पेटिकोटमा भेट्दा बाटोमा अर्कोमान्छे अगाडि ल हेर बहुलाई लिएर आयौं पनि भने । आमाले हास्दै भन्नुभयो ‘ती मान्छे ज्यूँदैछन नि ।’

अप्ठयोमा परेकालाई सहयोग गर्न पाउँदा सबैभन्दा धेरै सन्तुष्टी मिल्छ आमालाई । भन्नुहुन्छ, अरुलाई सहयोग गर्दा आउने आनन्द विछुट्टै खालको आत्मअनुभूति हो ।’

जीवनको पहिलो अन्तरवार्ता

२० वर्षदेखि समाजसेवामा समर्पित आमा साबित्रीले खसोखाससँग कुरागर्दै भन्नुभयो ‘नानी यो मेरो जिवनको पहिलो अन्तरवार्ता हो । बोल्नु आउँदैन । मेरो पढाई पनि छैन, छोरी । मिलाएर बोल्नु आउँदैन ।’

अचम्म लाग्यो, सानो कुरामा तछाड मछाड गरेर, लेख्ने र बोल्ने मिडियाको नजर २० औँ वर्षदेखि समाजसेवामा कार्यरत एउटा असल र कुशल आमालाई भेट्न किन सकेन ? तर, आमा बोल्नुभन्दा आफ्नो कर्तब्य पुरा गर्नुपर्छ भन्ने विचार राख्नु हुँदोरहेछ ।

उहाँ जे बोल्नुहुन्छ, ती कुरा जिवन्त छन् । तर,उहाँको कामलाई हामीले जति प्रसंशा गरे पनि कमिनै हुन्छ ।

अहिले आमाको काखमा हुर्कदै गरेका छोराछोरी सातौँ ब्याजका हुन् ।यो भन्दा पहिलाका नानी बाबुहरु आफै कमाएर खाने भैसकेका छन् । उनीहरु आफ्नो घरगृहस्ती बसाई सकेका छन् । कोही बिदेश छन्, कोही देशमै काम गर्दै छन् । आमाले खुशी हुँदै सुनाउनुभयो, ‘नाती नातिनी लिएर भेट्न आउँछन् ।’ साबित्री आमा हजुरआमा बनिसक्नु भएको छ ।

यो अनाथालमा बच्चाहरु जिल्ला वा वडाको सिफारिमा आउने गर्दछन् । बच्चाहरु हुर्केर आफै केही गर्ने भएपछि, आमाले पुनः जिल्ला र वडाका प्रतिनिधिहरुको रोहवरमा पठाउनुहुन्छ ।

गाउँमा आमाबुबा नभएका तर आफन्त भएकाहरु गाउँमै जान्छन् । तर कैयौ बालबालिका बाटोमा भेटेर ल्याएका पनि छन्, उनीहरुलाई भने आमाले आफैसँग राख्नुहुन्छ ।

‘अब ठूलाहरुको चिन्ता छैन् ।’ छेउमा खेलिरहेकानानीहरु देखाउँदै भन्नुभयो । ‘यी नानीहरुलाई पनि डाक्टर, इन्जिनियर, बनाउने इच्छा छ तर नियमीत श्रोत छैन । मेरो उमेर ढल्कंदैछ । हुन त मैले आफ्नो सम्पूर्ण सम्पत्ति ट्रस्टमा दिईसकेको छु । राज्यले जिम्मालेला, आमा हुँ पिडा हुन्छ । अझै पनि नेपालीकै सहयोगबाट पढाउनु पाए हुने थियो । जसको कोही हुँदैन, उनीहरुको संसार हुन्छ ।’ सोच्छु ‘मेरो जस्तो आत्म भएको अरु जन्मेका छन् र जन्मने छन्, त्यसमा मलाई पूर्ण विश्वास छ । यी छोराछोरी भोलिका राज्य निर्माण गर्ने कर्णधार हुन । सबैका सपना पुरा गर्ने सोचमा काम गर्दै जान्छु ,पुर्याउने, नपुर्याउने ईश्वरकै खटन हो ।’ आमाको घरमा अहिले २७ जना छोरीहरु छन् भने १५ छोराहरु जना छन् ।

आमा तपाई आफैले जन्माएका छोराछोरीहरु कति हुनुहुन्छ नि ? भन्ने ‘हाम्रो प्रश्नले आमालाई अप्ठ्यारो बनायो, ‘अगाडि मेचमा बसेको छोरालाई देखाउँदै भन्नुभयो, ‘ठूलो छोरा, उ त्यही हो । तर, मैले जन्माएको र नजन्माएको भन्नु पाप लाग्छ । ४२  जना छोराछोरी मेरा लागि बराबर हुन् । मैले तपाईको जवाफ दिन असमर्थ छु नानी !’ हुनु पनि हो, एकदिनको नानी लिएर आफैले हुर्काएको आमाले यो प्रश्नको जवाफ कसरी दिनु ?

आश्रम नजिकै डेरागरी बस्ने नेकपाकी केन्द्रिय सदस्य सुशीला सिर्पाही ठकुरीले भन्नुहुन्छ, आमाका आफ्नै दुईवटा छोरी पनि समाजसेवामा लागि रहनुभएको छ । एउटा छोरी असाय बालबालिकाको हेर्रचाह गर्नुहुन्छ भने अर्को छोरी मनोरोगीहरुको सेवामा लाग्नु भएको छ । दुबैले आश्राम चलाउनु भएको छ ।

साबित्री आमा भन्नुहुन्छ ‘जिवन केही होइन, धर्तिमा हामी खेल्न आएका हौँ । आउँदा केही लिएर आएनौं, जाँदा पनि लिएर जाने होएन,अहिले म मेरो कर्तब्य पालना गरेको मात्र हो ।’

कुकर फुकाएर लखेट्दा

आमाले विगत सम्झँदै भनुभयो ‘पहिला बनस्थलीमा टिनको टहरा थियो । त्यहीबाट बच्चाहरुको स्यारसुसार सुरु गरें । सुरुका दिनमा अम्बिका मिस, छोरा पारस र छोरी पुजा घर—घरमा माग्न जान्थ्यौँ । कसैले कुकुर फुकाएर लखेटि दिन्थ्ये, कसैले बहुला आएभन्दै गिज्याउँथे , कसैले यो बुढीले दुईवटा केटी बोकेर हिँडेकी छे, यसको निको चाल छैन पनि भने । काठमाडौ र ललितपुरको कुनै घरखाली छैन होला, हामीले मानो मुठि नमागेको । मानिसहरु एकमुठ्ठी चामल र पाँच पैसा पनि दिए, तर हामीले खुशी खुशी ल्यायौँ । मलाई यी छोराछोरीको भविश्य सुन्दर बनाउनु थियो । म उनीहरुलाई पढाएर ठूलो मान्छे बनाउन चाहान्थे । त्यही सपनाले दिनभर भोगेका अपमान र दुःख केही लाग्दैनथ्यो ।’

जन्मदिने बुबाआमा नभएका बच्चाको लागि केही सहयोग गर्नुहुन्छ कि ? भन्दा समाजका केही मानिसले लगाउने बचनले पटक—पटक मर्माहित बनाउँथ्यो तर, ती अबोध र असाय बालबालिकाले आमा भन्दै उनको वरिपरि घुम्दा, उनीहरुको सुन्दर भविश्य बनाउने अठोट अझ दृढ भएर आउँथ्यो ।

शहिद गेटको बाटो हिड्दै गर्दा साना साना नानीबाबु खाली खुट्टा जाडोमा, नांगै हिडेको देख्दा, आमालाई छटपट्टी हुन थाल्यो । मनमनै योजना बनाउनुभयो, ‘यी नानीहरु जसरी पनि मैले पाल्नुपर्छ ‘ । अनि बाटो बाटोमा बालबालिका बटुल्दै हिड्नुभयो ।

‘दुःख र सुख जीवन हो । रुनु र हाँस्नु त्यत्ति टाढा पनि छैन, त्यत्ति नजिक पनि छैन ।’ यो उहाँको ६५ वर्षे जिवनको अनुभव हो ।

‘म कसले के भन्छ, भन्नेतिर कहिल्यै लागिन । मेरा दिन बच्चाहरुलाई हुर्काउने र शिक्षा दिनेमै बित्यो । कसैको कुराले न दुःखी भए, न खुशी नै भए । हिजो जे थिएँ अहिलेपनि त्यही छु ।’

गोठालो थिए, गोठालो नै छु । मेरो संसार यही हो ।

अहिलेसम्म छोराछोरीले दुःखी बनाएका छैनन्, उनीहरुलाई भोलि धानसम्पत्ति दिन सक्दैन, तर शिक्षा र नैतिकशिक्षा दिन सकेको छु ।’

आमाको  आश्रम मात्र होइन, एउटा पवित्र तिर्थस्थल हो । जहाँ तपाई सकारात्मक र जिवनमा नयाँ केही गर्ने उर्जा पाउनुहुन्छ । अझ, समाजसेवामा लागेका र लाग्ने सोच बनाएकाहरुले साबित्री आमाको आश्रम पुग्ने र समाजसेवाको असली नमुना कस्तो हुनुपर्छ भनेर शिक्षा लिने पाठशाला पनि हो ।

त्यसैले बालबालिकाको शिक्षामा सहयोग गर्न चाहानु भएको छ भने एक पटक हात्तिबन ललितपुरमा रहेको साबित्री आमाको आगन, अवश्य पुग्नुहोला । तपाई त्यहाँ, सहयोग गरेको अर्थ र महत्व अनि सहयोगको सही प्रयोग पाउनुहुनेछ ।

६५ वर्षिय महान आमालाई अन्तिममा यत्तिभनौ, ‘आमा तिमीलाई सलाम छ ।’

बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com