फोक्सो फेरेकी प्राशा न्युयोर्कको आईसीयुमा, नयाँ फोक्सो र मृगौलाका लागि सहयोगको अपिल
प्रकाशित मिति : माघ २३, २०७५ बुधबार
सन् २०१६ को फरबरी ९ मा न्युयोर्कमा फोक्सो फेरेर पुनर्जीवन प्राप्त गरेकी प्राशा तुलाधार गम्भीर बिरामी भएर आईसीयुमा भर्ना भएकी छिन् । गत डिसेम्बरमा फोक्सोमा इन्फेक्सन भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अब उनलाई नयाँ फोक्सो र मृगौला समेत प्रत्यारोपण जरुरी भएको छ ।

सन् २०१६ को फरबरीमा फोक्सो प्रत्यारोपणपछि तीनमहिना उपचार गरेर अप्रिलमा प्राशा घर फर्किएकी थिइन् । त्यसपछि उनी अंगदान अभियानमा समेत सकृय रहेकी थिइन् । अंगदान र स्क्लेरोडोर्मा रोगका बारेमा जनचेतना जगाउने क्रममा प्राशा सन् २०१८ मा न्युयोर्क राज्यका सांसदहरुलाई भेट्न उनका पतिसहित क्यापिटल हिल समेत पुगेकी थिइन् ।

अहिले प्राशालाई न्युयोर्कको प्रेस्वेटेरियन अस्पतालको आईसीयुमा भर्ना गरिएको छ । सात हप्ता देखि उनको त्यहाँ उपचार भइरहेको र उनलाई हाल इक्मो, भेन्टिलेटर र डायलोसिस मेसिनमा राखिएको पारिवारिक श्रोतले जनाएको छ । उनको फोक्सो र मृगौलाहरु झन् झन् खराब बन्दै गएको बताइएको छ ।

विगतमा प्राशाको उपचारका लागि अमेरिकामा रहेको नेपाली समुदायले ठूलो सहयोग गरेको थियो । अहिले पनि प्राशाको जीवन बचाउन र अंग प्रत्यारोपणका लागि अनुरोध गर्दै गोफण्डमीमा एकाउन्ट खोलिएको छ । एकलाख डलर संकलनको लक्ष्यसहित सुरु गरिएको आर्थिक अभियानका क्रममा यो समाचार तयार पार्दासम्म २३ सय डलर संकलन भइसकेको छ ।
यदि तपाईपनि प्राशाको जीवन बचाउन सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।






