नीतिकथा : धनी र गरिब
प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार
एकदिन धनी बाबुले आफ्ना छोरालाई गाउँको भ्रमणमा लगेछन् । किनभने धनी बाबुले गाउँमा मान्छेहरु कतिसम्म गरिब हुनसक्छन् भन्ने देखाउन चाहेका थिए । त्यसैले उनीहरुले गाउँको गरिव परिवारको फार्ममा समय विताए ।
जब उनीहरु भ्रमणबाट फर्के, बाबुले छोरालाई सोधे – ‘भ्रमण कस्तो लाग्यो तिमीलाई ?’
छोराले जवाफ दिए – ‘एकदमै राम्रो ।’
बाबुले भने – ‘तिमीले देख्यौ नि मान्छेहरु कतिसम्म गरिव छन् भन्ने ? ‘
छोराले दिए – ‘देखें बुबा ।’
बाबुले सोधे – ‘उसोभए भन । तिमीले यो भ्रमणबाट के सिक्यौ ?’
छोराको जवाफ बाबुका लागि अप्रत्यासित थियो । छोराले भने – ‘हामीसँग एउटामात्र कुकुर छ । उनीहरुसँग ४ वटा छन् । हामीसँग एउटा कृतिम पोखरी छ । उनीहरुसँग सिंगै नदि छ । हामीसँग रातीमा बाल्ने ट्युबलाइट छन् । उनीहरुसँग अनगिन्ती ताराहरु छन् । हामी खानेकुरा किन्छौं । उनीहरु उब्जाउँछन् । हामीलाई संरक्षण गर्ने पर्खाल छ । उनीहरुलाई संरक्षण गर्ने साथीहरु छन् । हामीसँग टेलिभिजन छ तर उनीहरुसँग समय विताउने परिवार छ ।’
छोराको जवाफ सुनेर बाबु निरुत्तर भए । छोराले अझै थपे – ‘धन्यवाद बुबा । मलाई हामी कति गरिब रहेछौं भन्नेकुरा देखाइदिनुभएकोमा ।’






