किन हराउँदै छन् धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु


प्रकाशित मिति : पुस १७, २०७३ आईतबार

कञ्चनपुरको बेदकोट नगरपालिकाको चुरे क्षेत्रमा रहेको बेदकोट धार्मिक क्षेत्रका प्राचीन मूर्तिहरु हराउने र नासिने क्रम बढ्दो रुपमा रहेको छ ।
धार्मिक क्षेत्रको संरक्षण संवद्र्धनको कार्यलाई सन्तोषजनक रुपमा अगाडि नबढाइँदा पुरातात्विक महत्वका वस्तु हराउने क्रम बढेको हो ।
हालसम्म धार्मिक क्षेत्रबाट एक किलो बढी तौलको चाँदीको मजुरको मूर्ति, अष्टधातुको नागको मूर्ति, ठूला घन्टीहरु, बाघ हात्तीका कलात्मक मूर्ति हराइसकेको धार्मिक क्षेत्रका जीतबहादुर देउवाले बताउनुभयो ।

प्राचीन मन्दिर परिसरमा रहेका मूर्ति र मन्दिरभित्रका मूर्तिसमेत हराएका बताउदै उहाँले हालसम्म कुनै पनि निकायले हराएका मूर्ति खोजी गर्ने र मर्मतको सङ्घारमा रहेका मूर्तिबारे चासो नराखेको बताउनुभयो ।

प्राचीन मन्दिरभित्रको भगवान् शिवको गर्भगृहमा रहेको धातुको मूर्तिलाई साधुले मन्दिरको ढोकामा लगाइएको ताला फुटालेर सडक छेउ राखेपछि धार्मिक क्षेत्रबारे मन्दिर समितिले चासो देखाउन सुरु गरेको छ । मन्दिरको पुरातात्विक महत्वको मूर्ति सडक छेउ राखिएपछि मन्दिरका मूर्ति नासिँदै जान थालेको प्रति मन्दिरका भडरिया डम्बरबहादुर ऐरले चिन्ता प्रकट गर्नुभयो ।

मन्दिरभित्रको मूर्ति बाहिर ल्याएर राख्ने विरुद्ध कारबाही भएमा मन्दिरका प्राचीन मूर्तिलाई तत्काल पुरानै ठाउँमा धार्मिक विधि विधानअनुरुप पुनःस्थापन नगरे जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने बताउनुभयो ।
सिद्ध वैजनाथ बेदकोट संरक्षण समितिका अध्यक्ष जयबहादुर साहुले मन्दिरमा २२ पटक ताला लगाउँदा अर्को दिन जाँदा ताला फुटालेको अवस्थामा पाउने गरिएको बताउनुभयो ।

“ताला तोड्नेको पहिचान गरी कारबाही गर्ने उहाले जानकारी दिनुभयो । समितिसँग आर्थिक अभाव हुँदा धार्मिक क्षेत्रको संरक्षण र पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण संवद्र्धनको कार्यमा कठिनाइ रहेको उहाँको भनाई छ । वर्षौं पहिले धार्मिक क्षेत्रमा पुग्ने भक्तजनका लागि राखिएको फलामको पिङसमेत मन्दिर परिसर क्षेत्रमा तोडेर फालिएको अवस्थामा रहेको छ । परापूर्वकालमा वनवासका क्रममा पाण्डवहरुले यस क्षेत्रमा आएर बेदधुनी जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति रहेको छ । यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिहरुको तपोभूमिका रुपमा समेत परिचित रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com