अमेरिकाबाट देशनिकाला भएका आफ्ना नागरिक लिन नमानेपछि घानाबिरुद्ध भिसा प्रतिबन्ध


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

अमेरिकाबाट देशनिकाला भएका आफ्ना देशका नागरिक लिन नमानेपछि अमेरिकाले घानाबिरुद्ध भिसा प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विदेशमन्त्रालयसँगको समन्वयमा घानाबिरुद्ध भिसा प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले घानामा रहेका कन्सुलर अधिकारीहरुलाई भिसा प्रतिबन्धको निर्देशन दिइसकेका छन् । निश्चित श्रेणीका भिसा आवेदकलाई प्रतिबन्ध लगाइएको वताएपनि कुन कुन श्रेणी भन्नेबारे अमेरिकाले केही खुलाएको छैन ।

विगतमा अमेरिकाबाट देशनिकाला गरिएका नागरिक लिन नमान्ने देशका उच्च सरकारी अधिकारीहरु र उनीहरुका परिवारलाई अमेरिकाले भिसा प्रतिबन्ध लगाउँदै आएको थियो । घानाले अमेरिकाबाट देशनिकाला गरिएका नागरिक लिनमा अस्वीकार र अकारण ढिलाई गरिरहेको अमेरिकाको आरोप छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले घानाका नागरिक देशनिकालाबारे घानासँग समन्वय कायम भएकोबारे अमेरिकी विदेशमन्त्रालयलाई जानकारी नगराउँदासम्म प्रतिबन्ध जारी रहने बताइएको छ । अमेरिकाले कुनै पनि देशका नागरिकलाई अमेरिकाबाट देशनिकाला गर्दा सम्बन्धित देशको अमेरिकामा रहेको दूतावाससँग कागजपत्रका लागि समन्वय गर्न आग्रह गर्दै आएको छ । अधिकांश देशले आफ्ना देशका नागरिक स्वीकार्नका लागि समन्वय कायम गर्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com