ज्यानमारा चिसो पूर्वी अमेरिकातिर फैलियो, न्युयोर्कमा माइनस १७ डिग्री अनुभव


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

अमेरिकाको मध्यपश्चिम क्षेत्रमा आतंक मच्याएको ज्यानमारा चिसो अमेरिकाको पूर्वी क्षेत्रमा समेत फैलिएको छ । अहिलेसम्म ११ जनाको ज्यान लिइसकेको चिसोका कारण बिहिबारमात्र २ हजार भन्दा धेरै उडानहरु रद्द भइसकेका छन् ।

बिहिवार विहान न्युयोर्कको तापक्रम सेन्ट्रल पार्कमा २ डिग्री फरेनहाइटसम्म झरेको थियो । तर चिसो हावासहित तापक्रम माइनस १७ डिग्रीसम्म अनुभव भएको थियो । दिउसो भने तापक्रम केही बढेपनि अत्यन्तै चिसो अनुभव भइरहेको छ । बुधबार साँझ न्युयोर्क सिटीमा अचानक केहीबेर भारी हिमपात भएको थियो ।

न्युयोर्कमा आजको चिसोका कारण सबै शरिर छोपेरमात्र बाहिर निस्कन सुझाव दिइएको छ । न्युजर्सीको ससेक्समा तापक्रम माइनस ९ डिग्रीमा झरेको छ भने चिसो हावा सहित माइनस २२ डिग्री अनुभव भएको छ ।

भोलि दिउसोसम्म भने कडा चिसोपन समाप्त हुने जनाइएको छ । भोलि २० डिग्री फरेनहाइटसम्म तापक्रम झर्ने र शनिबार कम्तीमा ३० डिग्रीसम्म झर्ने अनुमान गरिएको छ । आइतबार ४० हुँदै अर्कोसाता न्युयोर्कको तापक्रम ५० डिग्री फरेनहाइट पुग्नेछ ।

आज सरकारी अधिकारीहरुले सर्वसाधारणहरुलाई न्युयोर्कमा सकभर घर बाहिर ननिस्कन सुझाव दिएका छन् । त्यस्तै गाडी चलाउनुको साटो सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिइएको छ । न्युयोर्कमा विद्यालय र सरकारी कार्यालयहरु भने खुला रहेका छन् । न्युजर्सीको ब्लुमफिल्ड, बेलेभिल लगायतका स्थानमा भने विद्यालयहरु ढिलो खोलिएको छ भने छिटो बन्द गरिनेछ ।

घरवेटीहरुलाई घरभित्रको तापक्रम दिउसोको समयमा ६८ डिग्री फरेनहाइट र रातीमा ६२ डिग्री फरेनहाइट राख्न सुचित गरिएको छ । आधाभन्दा धेरै अमेरिका चिसोले आक्रान्त बन्दा न्युयोर्कमा भने त्यती धेरै चिसो अनुभव गर्नुपरेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com