८१ वर्षीया वृद्धाले ६१ वर्षसम्म खोजेर १ सय तीन वर्षे आमालाई फेला पारिन्


प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार

आयरल्याण्डको डबलिनमा बस्ने एलिन म्याकेनले ६१ वर्ष खोजी गरेपछि आफ्नी १ सय तीन वर्षे आमा फेला पारेकी छिन् । जन्मिएदेखि पूरा बाल्यवस्था अनाथालयमा बिताएकी एलिनले १९ वर्षको हुँदा आफूलाई जन्म दिने आमा जिउँदो भएको थाहा पाइन् । त्यति बेलादेखि जारी यो खोज यसै महिना पूरा भयो । एलिनले आमा भेटिएपछि आफू संसारकै सबैभन्दा भाग्यमानी बताएकी छिन् ।

एलिन डबलिनस्थित बेथेनी होम अनाथलयमा हुर्किएकी हुन् । सन् १९५० अघि यो स्थान चोरी, वेश्यावृत्ति र बच्चाको हत्याका लागि बदनाम थियो । थुप्रै आमाले यहाँ विवाहअघि जन्मिएका बच्चालाई पनि छोड्ने गर्थे । त्यसकारण आफ्ना आमा–बुवा र आफन्त नभएका कारण एलिनले सामाजिक रुपमा निकै समस्या झेल्नुपर्यो । एलिन सम्झिन्छिन्, ‘परिवारबारे कसैले साधे मलाई अति नराम्रो लाग्थ्यो ।’

जिनोलोजिस्टको मद्दतले आमालाई खोजिन्ः

अनाथालयबाट निस्किएपछि एलिनले थुप्रै पटक आफ्ना आफन्तबारे पत्ता लगाउने कोसिस गरिन् तर उनले अघिल्लो वर्ष मात्रै यसमा सफलता पाइन् । एलिनले एक रेडियो कार्यक्रममा मानिसहरुसँग आफ्ना आफन्तको खोज्ने तरिका सोधिन् । यसै सिलसिलामा एक जिनोलोजिस्ट (जीन्सको अनुसन्धान गर्ने डाक्टर) ले एलिनलाई सम्पर्क गरे र रातदिन मेहनत एवं अनुसन्धानपछि उनकी आमाको खोजी गरे ।

एलिनले गत हप्ता उक्त कार्यक्रममा पुनः सम्पर्क गरेर आफ्नी आमा भेटेको बारे जानकारी दिइन् ।

उनले भनिन्, ‘मैलै विश्वास नै गर्न सकिनँ, जब मैले उहाँ जीवित हुनुहुन्छ भन्ने थाहा पाएँ तब मलाई एउटै कुरा मात्र दिमागमा आयो, उहाँलाई भेट्ने ।’

एलिन आफूलाई जन्म दिने आमा–बुवा भेट्न चाहन्थिन् किनभने आफ्ना सन्तानका लागि उनी आफ्नो मेडिकल हिष्ट्रि जान्न चाहन्थिन् ।

उनले भनिन्, ‘स्वास्थ्यको दृष्टिकोणले यो निकै गाह्रो थियो ।’

‘डाक्टरले मलाई भन्ने गर्थे, ‘तिमीलाई यसबारे किन थाहा छैन, तिमीलाई त्योबारे किन थाहा छैन’ भनेर सोधिरहन्थे ।’ मलाई एकपटक निकै चित्त दुख्यो र भने, ‘किनभने म अनाथ हुँ । मलाई केही पनि थाहा छैन, साँच्चै केही पनि थाहा छैन ।’

एलिन र उनका श्रीमान् रोनाल्डका दुई छोरी र एक छोरा छन्  तरपनि उनी आफ्नै रगतको नातामा खोजीरहिन् ।

उनले भनिन्, ‘धेरै मानिसहरुले मलाई भन्थे कि यसमा तिमीलाई के समस्या छ ?’

मैले उनीहरुलाई भन्ने गर्थे, ‘तपाईंले भन्न खोज्नुभएको के हो ? आफूलाई मेरो ठाउँमा राखेर हेर्नुहोस् अनि समस्या हो, त्यो थाहा पाउँछौ ।’

आफ्नी आमासँग अहिलेसम्म भेटेकी छैनन् एलिनलेः

आफ्नी आमाबारे पत्ता लागिसकेपछि पनि उनले अहिलेसम्म उनलाई भेट्न सकेकी छैनन् । तर आमा–छोरीबीच फोनमा कुराकानी भने भइसक्यो । फोनमार्फत नै एलिनलाई थाहा भयो कि उनका ७० वर्षका दुई सौतेनी भाइ पनि छन् जो उनीसँग भेट्न आतुर छन् ।

उनकी आमा उनीबाट निकै टाढा छिन् । एलिनले भर्खरै आँखाको शल्यक्रिया गरेका कारण विमानको यात्रा गर्न सक्दिनन् ।

‘मेरी आमा १ सय ३ वर्षकी हुनुभयो र चाँडै नै उहाँ एक सय चार वर्षको पुग्नुहुनेछ । मैले उहाँसँग फोनमा कुरा गरेँ तर राम्रोसँग सुन्नुभएन । उहाँ मजस्तै हुनुहुन्छ । म पनि एउटा कान मात्र सुन्छु,’ उनले भनिन् ।

‘उहाँले बारम्बार भनिरहनु भएको थियो, ‘मैले तिमीलाई सुन्न सकिनँ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com