मेरो पहुँच नभएर सरकारले पक्षपात गर्यो : दिक्पाल कार्की, मिस्टर मोडल अफ द वर्ल्ड


प्रकाशित मिति : माघ १४, २०७५ सोमबार

– अरुणा रायमाझी

विकट जिल्ला रुकुममा जन्मिएका डाक्टर दिक्पाल कार्की मिस्टर मोडल अफ द वल्र्ड– २०१८ को विजेता हुन् । उनले म्यानमारमा ६ महिना अगाडि सम्पन्न भएको मिस्टर मोडल अफ द वल्र्ड– २०१८ को उपाधि जितेका थिए ।

त्यसको साथै दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका थिए । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले नै हातपारेका थिए । यसैगरी कार्कीले विभिन्न अन्तर्रा्ष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । उनले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरेका दिक्पाल मोडलिङको क्षेत्रबाट देशलाई अन्तराष्ट्रिय उपाधि जिताउने नेपाली  हुन् । तर अचम्मको कुरा एउटा नेपाली युवाले मेहनत गरेको देशको प्रतिनिधित्व गरेर मोडल अफ द वल्र्ड २०१८ को उपाधि जितेर देशमा ल्याए भन्ने कुरा विश्वले थाहा पायो तर नेपालको सरकारले अहिलेसम्म थाहा पाएको छैन । खसोखासले मिस्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्कीसँग गरेको कुराकानी ।

नेपालमा मोडलिङ क्षेत्रको दायरा कत्तिको फराकिलो छ ?

स्कोप आफैले बनाउने रहेछ ।  मैले जतिबेला सुरु गरें त्यत्ति चर्चा थिएन,तर अहिले धेरै परिवर्तन आएको छ । म पूर्ण रुपमा यसै क्षेत्रमा समर्पित छु । विस्तारै यो क्षेत्रको महत्व बुझ्दै हुनुहुन्छ । मोडल अफ द वल्र्ड २०१८ को उपाधी मैले जितेपछि, यसक्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।

यो क्षेत्रमा काम गर्न थालेको कतिवर्षपछि अन्तराष्ट्रिय उपाधी हात पार्नुभयो ?

२००९ देखि मोडलिङको क्षेत्रमा काम गर्दै आएको छु । राष्ट्रिय मात्र होइन, अन्तराष्ट्रिय शोहरुमा पनि काम गरिरहेको हुन्छु । म यो क्षेत्रमा प्रबेस गरेको १० वर्ष भएछ । १० वर्षमा अन्तराष्ट्रिय टाइटल आफ्नो देशको पोल्टोमा पार्न सफल भएँ । आफ्नो काम प्रति गर्व लाग्छ ।

तपाईले जित्नु भएको अन्तराष्ट्रिय उपाधीको महत्वलाई देशले कत्तिको बुझेको रहेछ ?

यो फिल्डको बारेमा बुझ्नु भएकाहरुले अन्तराष्ट्रिस्तरमा देशको नाम राख्दै उपाधी हात पारेकामा बधाई तथा सम्मान गर्नु भैरहेको छ । मैले भनिसके विस्तारै बुझ्दै हुनुहुन्छ ।

मिस नेपाल श्रृखला खतिवडालाई मिस वल्र्डमा भाग लिएर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई तथा सम्मान पनि गर्नुभयो ? तपाईले त उपाधीनै ल्याउनुभयो । तपाईलाई पनि प्रधानमन्त्री ज्यूले सम्मान गर्नुभयो होला नि ?

छैन, छैन । सायद मेरो पहुँच नभएर होला, राज्यबाट प्रोत्साहन पाएको छैन । म नेपालबाट प्रतिनिधित्व गरेर मोडल अफ द वल्र्डमा भाग लिएको थिएँ । देश सानो भएपनि नेपालीहरुमा क्षमता छ भन्ने देखाउन चाहन्थे, त्यो पुरा पनि गरेँ । देशलाई आफ्नो क्षेत्रबाट अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने मौका पाएँ । निकै खुशीको साथै दुःखी पनि छु, उपाधी जितेर ल्याएको चार महिना भयो राज्यले सम्झेको छैन ।

सरकार भनेको हामी सबैको अभिभावक हो । अभिभावकले कसैलाई काखा र कसैलाई पाखा गर्न हुँदैन । मैले पनि त्यो टाइटल देशको नाममा जितेर ल्याएको हुँ ।

रह्यो कुरा श्रृखला जीको । उहाँको राजनीतिक पहुँच थियो, प्रधानमन्त्री ज्यूबाट बधाई तथा सम्मान पाउनुभयो । फेरि,मैले श्रृखलाको विरोध गरेको हो भन्ने नठान्नु होला । श्रृखलामा क्षमता छैन भन्न खोजेको पनि होइन । तर, उहाँको राजनीतिक पहुँच पनि छ । सबै राजीतिज्ञ ब्यक्तिहरुले उहाँको बारेमा समाजिक सञ्जालमा शेयर गर्नुभयो त्यसले पनि चर्चा भयो । तर, मेरो पहुँच त्यहाँसम्म थिएन, सायद त्यही भएरपनि होला चर्चा नभएको र राज्यले नसम्झेको । सरकार मेरो पनि हो । खै किन हो मलाई सम्झनु भएन भनौँ वा पक्षपात भयो भनौँ ।

अर्को कुरा, अन्तराष्ट्रिय रुपमा हुने जुनसुकै प्रतियोगिताहरु जित्नु सजिलो छैन र हुँदैन । त्यसको लागि कडा मेहनत गर्नुपर्छ । मैले पनि निकै मेहनत गरेर मोडल अफ द वल्र्ड जितेको हुँ ।

तपाईलाई लाग्दैन, म पनि सम्मानको हकदार हुँ भन्ने ?

लाग्छ नि ! किन नलाग्नु । तर, राजनीतिक क्षेत्रमा पहुँच छैन । (हाँस्दैे) अन्तराष्ट्रले चिन्यो देशले चिनेन ।

कुरा राजनीतिकै चलेकाले, सोध्न मन लाग्यो । कि तपाई पनि राजनीतिक क्षेत्रमा आउने ?

भविश्यमा के हुन्छ थाहा छैन । अहिले आउने इच्छा छैन ।

राजनीतिमा युवा नेतृत्व चाहियो, पुरानो पुस्ताले देश चलाउन सकेन भन्ने कुरा उठिरहेको छ । एउटा युवाको हिसाबले तपाईलाई के लाग्छ ?

म जुन फिल्डमा छु, त्यही हिसाबले भन्दैछु । अनुभवी मानिसले झन् धेरै राम्रो गर्दछ । तर, इच्छाशक्ति चाहिन्छ । उमेरले मात्र पनि हुँदैन । राज्य चलाउने कुरा नेतृत्वको  सोचमा भर पर्दछ, जस्तो लाग्छ । युवाहरुको सोच बुढापाकाहरुको जस्तो र बुढापाकाहरुको सोच युवाको जस्तो पनि हुन्छ । खाली कुरा देशको लागि राजनीति गर्ने व्यक्तिलहरुले समय अनुसार सोचमा परिर्वतन ल्याउन जरुरी छ । मेरो बुझाईमा मानिस आफ्नो क्षेत्रमा जति पुरानो भयो उतिनै राम्रो गर्दछ भन्ने लाग्छ । यसको मतलब युवाहरु नेतृत्वमा ल्याउनु हुँदैन भन्ने होइन ।

अधिकांश युवाहरुले त राजनीतिक नेतृत्व ठीक छैन । पुरानो पुस्ताबाट अब विकास हुँदैन भन्ने गरेको पाइन्छ नि ?

विकासको लागि राजनीतिक रुपमा केही सुधार आवश्यक छ, त्यो मैले पनि मान्छु । तर हामी युवाहरुले आलोचना गरेर मात्र बस्ने कि ? नयाँ नयाँ कुराको खोजि गरेर देशमा रोजगारी सृजना गरेर देशको विकासमा योगदान पुर्याउने भन्ने प्रश्न पनि उत्तिकै अहम छ ।

चुनावपछि देशले राजनीतिक रुपमा कोल्टे फेर्नेछ र विकासका धेरै बाटाहरु खुल्ने छन् भन्ने धेरैको आशा थियो । तर सोचे जस्तो हुन सकेको छैन । पछिल्लो समय केही राष्ट्रिय गौरबका योजनादेखि बाटोघाटो निर्माणका कामहरु भैरहेका छन् । त्यसको साथै राजनीतिक लिडरहरु पनि हरेक मुद्धामा सचेत भएको जस्तो देखिन्छ । अर्को कुरा, अहिलेको सरकारलाई सामाजिक दबाव दिनप्रतिन बढ्दो छ । जसको कारण केही नयाँ काम हुने संकेत देखिएका छन् ।

युवाहरुले देश छोडिरहेका छन् । यसमा तपाई आफ्नो अनुभवको हिसाबले के भन्नुहुन्छ ?

देशमा अथाह सम्भावनाहरु छन् । तर, मैले बोलिरहँदा आर्थिक अभावमा परेका परिवारसँग मेल खाँदैन । रहरले कसैले पनि देश र परिवार छोड्दैन । धेरै युवाहरु बाध्यताले विदेशीनु भएको कुरालाई बुझ्नु पर्दछ । तर, एउटा कुरा बिदेशमा हामी जति मेहनत गर्दछौँ, त्यो मेहनत देशमा गर्यौ भने अवश्य सफल हुन्छौँ । देश भर्खर विकासको चरणमा छ, विदेशमा रहेका हाम्रा दाजुभाई दिदी बहिनीहरुले सिकेको सिप प्रयोग गर्यौँ भने आफूलाई मात्र होइन, अरु धेरै युवा आफ्नो परिवारबाट छुट्टिएर बिदेशीनु पर्दैन ।

सामाजिक मुद्धाहरुमा कत्तिको चासो राख्नुहुन्छ ?

चासो हुन्छ नि । समय भएसम्म सामाजिक क्षेत्रका बारेमा उठ्ने  बहसहरुलाई नजिकबाट अध्यायन गर्छु र धारणा बनाउँछु ।

पुरुषको आँखाबाट हेर्दा महिला हिंसा बढ्नुको मुख्य कारण के देख्नुहुन्छ ?

पछिल्लो समयमा साना साना नानीहरुको बलात्कारपछि हत्याका घटनाहरुको समाचार हेर्दा कहाली लाग्छ । लौ न यो के भैरहेको छ,जस्तो लाग्छ ।
बलात्कार, हत्या र हिँसा रोक्न, महिला मात्र होइन पुरुष पनि अगाडि आउनुपर्छ । अर्को कुरा, बलात्कार भन्नु बित्तिकै पुरुषसँग जोडिएर आउँछ । त्यसैले हामी पुरुषहरु नै यस्ता घृणित कार्य रोक्न, समाजमा बलियो भएर उभिनु पर्दछ ।

समाजमा सबै पुरुष खराब छैनन् । तर, चुप लागेर बस्दा यस्ता अपराधीहरु मौलाएका हुन । त्यसकारण बोल्नुपर्छ ।

यस्ता कुरामा महिलालाई होइन, पुरुषमा जनचेताना जगाउने कार्यक्रम ल्याउनु जरुरी छ । मेरो विचारमा यस्ता कुराहरुमा घर परिवाले नै शिक्षा दिन जरुरी छ, जस्तो लाग्छ । समाजमा अहिले पनि, जस्तो सुकै क्षमतावन केटी मान्छे भएपनि धेरै जस्तो पुरुष मुख खुम्चाउँदै भन्छन् जावो त्यो केटी मान्छे न हो । यस्ता कुराले पनि सोसाइटीमा असर गरेको हुन्छ, चाहे नियत बस होस् वा यत्तिकै होस् ।

तपाई त पशुको डाक्टर पनि, डिग्री मात्र लिनु भयो कि काम पनि गर्नुभयो ?

पढाई सकिएको पहिलो वर्ष पशुको उपचार गरें । तर, मेरो चाहना मोडल नै थियो । त्यसपछि मोडलिङको क्षेत्रमा नै छु । यसमै बिजि हुन्छु, समय पनि हुँदैन ।

मोडलिङको क्षेत्रमा आउन चाहाने युवालाई केही सुझाव छ कि ?

मैले सुरु गर्दाको अवस्था फरक थियो तर अहिले सबैक्षेत्रमा ठूलो प्रतिस्पर्धा हुन्छ । त्यसैले यो क्षेत्रमा आउनु भन्दा पहिला अध्यायन वा तालिम लिएर आउन जरुरी छ । यो क्षेत्रमा दुई चार महिना हेरौँ न भन्ने तरिकाले आएर हुँदैन । सबैभन्दा ठूलो कुरा धैर्यता र लगाव चाहिन्छ , चाहिन्छ । रहरले मात्र हुँदैन ।

तपाईले विज्ञापन गर्नु हुन्छ नि, ती प्रोडक्सहरु प्रयोग गर्नुहुन्छ कि हुँदैन ?

सबै त प्रयोग गर्दैनौँ । विज्ञापन हो, भने जस्तो नहुन पनि सक्छ । त्यसलाई त्यही रुपमा बुझ्नु पर्दछ । वा आफैले बुझेर प्रयोग गर्दा राम्रो हुन्छ । हामीले जानकारी गराउने हो ।

तपाईका बाल्यकालका सपनाहरु जो गर्नु पाउनुभएन, केही छन् कि ?

मैले पढ्दा अटो भर्ने चलन थियो । मैले हरेक साथीहरुको डायरीमा आफ्नो लक्ष्य पाईलट बन्ने लेखेको रहेछु । अहिले साथीहरु भेट हुँदा सुनाउँछन् , तेरो , पाईलट बन्ने लक्ष्य कहाँ हरायो । हुर्कदै जाँदा बाल्यकालका सपनाहरु कता गए, गए ।

तन्तुरुस्त रहनको लागि के के गर्नुहुन्छ ?

समय हुँदा जिम जान्छु । खानामा ख्याल गर्नु पर्यो । खासगरी अन्तराष्ट्रिय शोहरुमा जाने बेला डाइटिङ पनि गर्दछु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com