बिहानै देखि जल्न थाल्यो प्रधानमन्त्री ओलीको पुत्ला
प्रकाशित मिति : माघ १३, २०७५ आईतबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) सरकार बिरोधी गतिबिधिमा निक्कै आक्रमक देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै आएको नेविसंघले आजदेखि कडोर संकर्षको रुप लिएको छ । उसले आज बिहानै देखि देशका विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

चिकित्सा शिक्षा विधेयक संसद्बाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । यस्तै देशका विभिन्न ठाउँमा पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ ।

चिकित्सा विधेयक संसद्बाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस क्रूद्ध बनेको छ । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले आइतबार सरकारलक्षित विरोध कार्यक्रम गरेको हो । नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न सरकार उदासीन देखिएको भन्दै त्यसलाई अघि बढाउनसमेत माग गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण केहीबेर पशुपति क्याम्पसअगाडिको सवारी आवागमनसमेत प्रभावित बनेको थियो । आज दिउँसो १२ बजे शक्ति प्रर्दशन गर्नेगरी महिला संघको अगुवाईमा कांग्रेसका सबै भातृ संगठनले काठमाडौमा प्रर्दशन गर्दै छन् । प्रर्दशनका लागि देशभरीबाट नेता तथा कार्यकर्ता झिकाईएको छ । प्रर्दशन माईतिघर मण्डलादेखि बानेश्वरसम्म हुनेछ ।






