तरकारी बिक्री नभएपछि खेतमै डोजरले नष्ट
प्रकाशित मिति : माघ १३, २०७५ आईतबार
आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दाकोभी र मुला खेतमै डोजर लगाएका छन् । बजारमा प्रतिकेजी ३० रुपैयाँ मूल्यमा बिक्री भैरहेको बन्दाकोभी र १५ रुपैयाँ पर्ने मुला व्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नुपरेको उनको भनाइ छ ।
लगानी र मिहिनेत नै नौठ्ने भएपछि १६ कट्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलाखेती नष्ट गरेको महतोले बताए । ‘आफूखुसी पैसा दिएर तरकारी लैजानूभन्दा पनि व्यापारीले तरकारी उठाएनन्, त्यसैले बाध्य भएर डोजर लगाउनुपर्यो,’ उनले भने ।
पछिल्लो समय भारतबाट अत्यधिक परिमाणमा तरकारी आयात हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजारमूल्य पाउन सकेको छैन । अहिले बन्दा र मुला उत्पादन हुने सिजन हो । किसानले आफ्ना घरका करेसाबारीमा खेती गरेकाले पनि बन्दा र मुलाले बजार नपाएको किसानहरूको भनाइ छ ।
घरघरमै उत्पादन हुने भएकाले पनि अहिले बन्दा र मुला बजारमा कम बिक्री हुने गरेको छ । ‘हामीले उत्पादन गरेको तरकारी लिनै मान्दैनन्,’ महतोले भने, ‘तरकारीको आयात बढ्दै गएका कारण हाम्रो उत्पादनले बजार पाएको छैन ।’
बजारमूल्यभन्दा १५ गुणा कम मूल्यमा पनि बिचौलियाले तरकारी नौठाएको उनले गुनासो गरे । उत्पादन भएको तरकारी बजार पठाउन नपाएका कारण १० लाख मूल्यबराबरको घाटा लागेको महतोले जानकारी दिए ।
मल, बीउ, सिँचाइ, औषधि र श्रमशक्ति खर्च गरेर उत्पादन गरेको तरकारी न्यूनतम मूल्यमा लैजानुभन्दा पनि व्यापारीले लैजान नमानेको उनले बताए । महतोले जग्गा भाडामा लिएर तरकारीखेती लगाउँदै आएका छन् ।यो खबर आजको नयापत्रिकामा छ।






