जन्ती बसमा करेन्ट लाग्नुमा दोषि को ? मृत्यु भएका ६ जनाको सनाखत
प्रकाशित मिति : माघ १२, २०७५ शनिबार
धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टियामा जन्ती सवार बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु भएको छ । सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा शुक्रबार साँझ करेन्ट लागेको थियो । बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले उनीहरु सकुशल छन् । तर, जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइेर आगलागी भएको थियो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिअैजी हरीबहादुर पालकाअनुसार ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मृत्यु भएको छ । ३ महिला, १ बालिका, १ बालक र एक जना पहिचान हुन बाँकी व्यक्ति गरी ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको प्रहरी पालले जानकारी दिए ।
करेन्ट लागेर मृत्यु भएकाहरुमध्ये ६ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा सिन्धुली दुधौली नगरपालिका ९ का ९ वर्षीय बालक राकेश कुमर, १० वर्षीय सुरज अधिकारी, २० वर्षीया पूजा अधिकारी, १७ वर्षीया लिला अधिकारी, ४५ वर्षीय रामबाबु अधिकारी र धनुषा सबैला ४ की ६० वर्षीया केशम कुमर छन् । करेन्ट लागेर मृत्यु भएकाहरुलाई जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । घाइते ६ जनाको जनकपुर अञ्चल अस्पतालमै उपचार भैरहेको छ ।
शुक्रबार सिन्धुली दुधौली जितपुरका रामप्रसाद अधिकारीका छोरा रमण अधिकारी र सबैला बिल्टयाका रामभरोष कुँवरकी छोरीको वैवाहिक कार्यक्रम सकिएपछि फर्किने क्रममा साँझ ६ बजेतिर बसको छतमाथि राखिएको टिनको बाकसमा ११ हजार भोल्टेज प्रवाह भैरहेको बिजुलीको तारले छुँदा करेन्ट प्रवाह भएको थियो ।
त्यसवेला बसमा ३६ जना जन्ती थिए । करेन्ट प्रवाह भएसँगै बसमा आगो लागेको थियो । अधिकांशले ढोका र झ्यालबाट फाल हानेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
जन्ती बसमा करेन्ट लागेर मानवीय क्षति हुनुमा विद्युत प्राधिकरण दोषि रहेको जनप्रतिनिधिले बताएका छन् । धनुषाको सबैला नगरपालिका प्रमुख विजय शंकर साहले विद्युत प्राधिकरणको लापरवाहीले घटना भएको दाबी गरे ।
विद्युतीय तार तन्केर निकै तल झरेको र प्राधिकरणलाई पटकपटक तार तान्न आग्रह गरेपनि नटेर्दा ठूलो दुर्घटना भइ मानवीय क्षति भएको प्रमुख साहले बताए ।






