कृष्णलाई ५० लाख चाहियो अमेरिकाबाट यी युवकले गर्दा उठ्यो ८० लाखको सहयोग
प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार
मानवताको न कुनै जात हुन्छ, नत धर्म। मानवताको न कुनै राष्ट्रियता हुन्छ, नत सीमा रेखा नै। उपकारी मनहरूका लागि नत कोही आफ्नो हुन्छ, नत पराई। हरेक सीमा नाघेर, अनि, जात धर्म र राष्ट्रियताको पर्खालभन्दा माथि चढ्ने गुणीहरू विरलै भेटिन्छन्।अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा बस्ने इन्द्र ओली एक त्यस्तै उदाहरण हुन्। आफूले जीवनमा कहिले पनि नभेटेका र नचिनेका नेपालका कृष्ण ओलीकाका लागि इन्द्रले अमेरिकामा झन्डै ८५ लाख नेपाली रुपैयाँ सङ्कलन गरेका छन्। सहयोग पाउने कृष्ण र सहयोग जुटाउने इन्द्रको थर एउटै हुनु संयोग मात्र हो।
त्यसो त इन्द्र र कृष्णको राष्ट्रियता समेत एक होइन। भुटानीमूलका नेपाली हुन् इन्द्र ओली। रुकुमको सानोभेरी गाउँपालिकामा जन्मिएका हुन् कृष्ण। गएको जेठ महिनामा कृष्णलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लाग्यो, जसका कारण उनले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्यो। उमेरले जम्मा २१ लागेका कृष्णको पीडा सामाजिक सञ्जालमा छताछुल्ल भयो। त्यही पीडालाई इन्टरनेटमार्फत अमेरिकामा बस्ने इन्द्रले पनि महसुस गरे, अनि सुरु भयो कृष्णका लागि सहयोग जुटाऊ अभियान।
‘कृष्णमाथि बनेको भिडियो हेरेर आँखामा आँसु थामिएन,’ पहिलो पटक कृष्णका बारेमा थाह पाएपछिको आफ्नो वेदना सुनाउँदै इन्द्रले सेतोपाटी सँग भने, ‘आफ्नै खल्ती बाट ५-१० हजार डलर सहयोग गर्छु भन्ने थियो तर सहयोग धेरै आवश्यक छ भन्ने बुझेर परिवार, साथीभाइलाई सहयोगका लागि गुहारेँ।’
इन्द्रको अनुरोध यसरी फैलियो कि अमेरिका मात्र नभएर अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्डलगायत अन्य मुलुकबाट पनि सहयोग गर्नेहरू निक्लिए। सुरुमा ५० हजार अमेरिकी डलर लक्ष्य राखेर सुरु गरिएको यो अभियानलाई प्राप्त सहयोगले हौसिएका इन्द्रले लक्ष्य बढाएर ७५ हजार पुर्याए।
अमेरिका भित्र र बाहिरका नेपाली र विदेशीहरूले इन्द्रको यो प्रयासमा सहयोग गरे। ‘तर, सबैभन्दा ठूलो आर्थिक सहयोग अमेरिकामा रहेका भुटानी नेपाली समुदायको छ,’ कुरो प्रष्ट्र पार्दै इन्द्रले जानकारी दिए। लक्ष्य पुरा भई सकेपछि इन्द्रले सुरु गरेको ‘सहयोग अभियान’ तिन दिनअघि औपचारिक रूपमा बन्द गरिएको छ।
‘फेसबुक लाइभ’ मार्फत सहयोग अभियान बन्द गरिएको जानकारी गराउँदै कृष्ण ओलीका लागि ७५ हजार ७ सय चौरानब्बे अमेरिकी डलर सङ्कलन भएको घोषणा इन्द्र र उनको सहयोगी समूहले गर्यो। ‘गो-फण्ड’ को शुल्क काटेर सम्पूर्ण रकम केही सातामा नै कृष्ण र उनकी पत्नी रूपालाई सार्वजनिक रूपमा हस्तान्तरण गरिने इन्द्रले बताए।






