उपत्यकामा बाक्लो हुस्सु, पश्चिममा पानी पर्ने !
प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार
आज बिहानैदेखि उपत्यकामा बाक्लो हुस्सु लागेको छ । बुधबार पानी परेपछि बिहीबार बाक्लो हुस्सु लागेको हो । बाक्लो हुस्सुका कारण अहिले काठमाडौंको भिजिविलिटी एक सय मिटरमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
कम भिजिविलिटि भएकाले सडकमा गाडी चलाउँदा वा हिँड्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । मौसमविद् मन्जु बासीका अनुसार अहिले लागेको हुस्सु दिउँसोपछि मात्रै हट्नेछ । हुस्सु हटेपछि काठमाण्डौमा बिहीबार घाम लाग्ने छ ।
बिहान ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको दिउँसोको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
सोमबार रातिदेखि सक्रिय भएको पश्चिमी वायु कमजोर भएकाले बिहीबार काठमाण्डौ उपत्यकासहित पूर्वी क्षेत्रमा दिउँसोपछि घाम लाग्नेछ भने पश्चिमी क्षेत्रको मौसम पूर्ण रुपमा नखुल्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।






