गृहमन्त्री बादल र इजरायली राजदुतबीच भेट,पर्यटन र सुरक्षाको क्षेत्रमा सहकार्यका लागि आग्रह
प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि इजरायलका राजदूत ओमेर बेनीबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
जलविद्युत, पूर्वाधार, पर्यटन र सुरक्षाको क्षेत्रमा तालिम तथा प्रविधिमा इजरायलको सहयोग तथा सहकार्यका लागि गृहमन्त्रीले राजदुतसँग आग्रह गरेका थिए । राजदूत ओमेरले नेपालसँग इजरायलको ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै यसलाई थप उचाईमा लैजानुपर्नेमा जोड दिए ।
उनले नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न आफूले सक्दो पहल गर्ने जानकारी दिए । त्यस्तै साना किसान बैंकसँगको सहकार्यमा प्रत्येक वर्ष पाँच सय नेपाली कृषी सम्बन्धी तालिमका लागि इजरायल पुगेर शिप सिकेर फर्कने गरेर जानकारी दिँदै यसले नेपालको कृषी क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेलिरहेको राजदुत ओमेराले टिप्पणी गरे ।
भेटमा राजदुत ओमेरले गृहमन्त्री थापालाई इजरायल भ्रमणको निम्तो समेत दिएका छन् ।






