काम गर्ने क्रममा आगोले पोलेर जापानमा नेपाली महिलाको निधन


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

कार्यस्थलमै भएको आगलागीमा परि गम्भिर घाइते भएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ ।

नुवाकोट जिल्ला घर भई हाल जापानको युकीमा श्रीमानको साथमा बस्दै आइरहेकी ३१ बर्षिय सावित्री नेपाल रिमालको उपचारको क्रममा ओकायामा प्रिफेक्चर स्थित एक हस्पिटलमा २१ तारिख साँझ निधन भएको हो ।

गत डिसेम्बर १० तारिक रिमालले काम गर्ने ठाउँमा इन्धनबाट बल्ने हिटर ताप्दै काम गर्ने क्रममा एक्कासी कपडामा आगो सल्किन गई घटना हुन गएको जानकारीमा आएको छ उनले ज्वलनशिल पदार्थ अल्कोहलले सफा गर्ने काम गरिरहेका बेला आगोले पोलेको थियो ।

अस्पतालको आकस्मिक कक्षमा उपचाररत रिमाललाई हिजो सोमबार साँझ ८ः५१ मा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

परिवारका सदस्यहरुका अनुसार उनले केही दिनयता मान्छे चिन्न समेत छाडेकी थिइन भने चिकित्सकहरुले आफुहरुबाट हुनसक्नेसम्मको उपचार सबै गरेको बताएका थिए ।

शरिरको अधिकाशं भाग जल्न पुगेपछि उनको किड्नी, फोक्सो र कलेजोले काम गर्न छाडेपछि निधन हुन पुगेको चिकित्सकहरुले बताएका छन् ।

नुवाकोट बिदुर घर भएकी रिमाल पछिल्लो पटक नोभेम्बर १३ तारिखमा नेपाल गएर फर्किएकी थिइन भने उनका श्रीमान कम्पनीमा कर्मचारीका रुपमा कार्यरत छन् । उनी भने पार्ट टाइम कामदार रहेको बताइएको छ ।

मृतक रिमालकोको दाह–संस्कार जापानमै गरिने भएको छ । उनका दुई सन्तान नेपालमै रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com