तालिम केन्द्रमा तालिबान आक्रमण, १०० भन्दाबढी सुरक्षाकर्मीको मृत्यु


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

अफगानिस्तानको राजधानी काबुलको बाहिरी क्षेत्रमा रहेको अफगान सेनाको बेस क्याम्प तथा प्रहरी तालिम केन्द्रमा तालिबान बिद्रोहीले गरेको आक्रमणमा १०० जना भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

वारडक राज्यको राजधानी मैदान शहरमा भएको आक्रमणमा धेरैको ज्यान गएको हो । समाचार संस्था रोयटर्ससँग एक उच्च सैनिक अधिकारीले भनेका छन्, ‘सेनाको तालिकम केन्द्र भित्र भएको आक्रमणमा १२६ जनाको ज्यान गएको खबर हामीले पाएका छौँ ।’

मैदान शहर काबुलबाट ४४ किलोमिटर दक्षिण पश्चिममा पर्छ । राज्यका अधिकारीले घटनामा ज्यान गुमाउनेको संख्या १०० भन्दा बढी रहेको बताएको रोयटर्सले उल्लेख गरेको छ ।

सरकारी अधिकारीले आधिकारिक रुपमा यस घटनाबारे केही बताएका छैनन् । उनीहरुले अहिलेसम्म २० जना भन्दा बढीको ज्यान गएको पुष्टि भएको उल्लेख गरेका छन् । घटना सोमबार भएको हो । आक्रमणमा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कार बमसहितको आक्रमणको जिम्मेवारी तालिबानले लिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com