ट्रम्पको अध्यागमन प्रस्ताव स्थायी समाधान नभएको भन्दै डेमोक्र्याट्सहरूबाट तत्काल अस्वीकार
प्रकाशित मिति : माघ ५, २०७५ शनिबार
सरकार शटडाउन अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव डेमोक्र्याट्सहरूले तुरुन्तै अस्वीकार गरेका छन् । प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पको प्रस्ताव स्थायी समाधानका लागि नभएको भन्दै अस्वीकार गरेकी छिन् । डेमोक्र्याट्सहरूले सरकार शटडाउन अन्त्यका लागि आगामी साता बिल पारित गर्ने पेलोसीले जनाएकी छिन् ।
डेमोक्रयाट्सहरुले सिमानामा पर्खाल बनाउन सहमत जनाउनु पर्ने शर्त सहित विभिन्न ६ अफरहरु दिएका थिए । आज दिउसो गरेको विशेष सम्बोधनका क्रममा ट्रम्पले डाका, टीपीएस लगायतका विषयमा अफरहरु दिएका हुन् ।
ट्रम्पले डाका कार्यक्रमले समेटेका बाल्यकालमा अमेरिका आएका ७ लाख कागजपत्रविहिनहरुलाई वर्क परमिट, सोसल सेक्युरिटी नम्बर र देशनिकालाबाट संरक्षण प्रदान गरेर तीन बर्षका लागि राहत प्रदान गर्ने प्रस्ताव अगाडि सारेका छन् । अमेरिकामा डाका कार्यक्रमबाट राहतप्राप्त नेपालीहरु ६० जना छन् ।
शटडाउन अन्त्यका लागि तीनबर्ष टीपीएस थप्ने ट्रम्पको प्रस्ताव, यस्ता छन् अरु ४ प्रस्ताव
त्यस्तै ट्रम्पले टीपीएस सकिदै गरेका मुलुकहरुका लागि तीनबर्षका लागि टीपीएस थप्ने प्रस्ताव ल्याएका छन् । नेपालको टीपीएस अवधि आगामी जुनमा समाप्त हुँदैछ । टीपीएस कार्यक्रमबाट झण्डै ९ हजार नेपालीहरु लाभान्वीत रहेका छन् ।
ट्रम्पले मानवीय कार्यक्रमका लागि ८ सय मिलियन डलरको प्रस्ताव समेत ल्याएका छन् । ड्रग डिटेक्सन प्रविधिका लागि ट्रम्पले ८ सय ५ मिलियन डलरको प्रस्ताव ल्याएका छन् ।
ट्रम्पले २७५० जना सिमा सुरक्षा अधिकारी र कानुन कार्यान्वयन अधिकारीहरु थप्ने प्रस्ताव समेत ल्याएका छन् । अमेरिकी अध्यागमन अदालतमा रहेको ब्याकलग अन्त्यका लागि ७५ जना नयाँ न्यायाधिसहरु थप्ने प्रस्ताव समेत ट्रम्पले ल्याएका छन् । अमेरिकी अध्यागमन अदालतमा झण्डै ४ हजार नेपालीका केसहरुको फैसला हुन बाँकी रहेको छ ।






