सरकार शटडाउन २८ औं दिनमा, प्रभावित कर्मचारीलाई पेपलले विना ब्याज २५ मिलियन दिने
प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार
अमेरिकी सरकार शटडाउनको प्रभाव क्रमश बढ्दै गइरहेको अवस्थामा पेपलले शटडाउनबाट प्रभावित कर्मचारीहरुलाई विना ब्याज ऋण दिने भएको छ । शटडाउनका कारण तलब नपाएका कर्मचारीहरुका लागि विना ब्याज ऋण उपलब्ध गराउन पेपलले २५ मिलियन डलर छुट्याएको छ ।
एकजनाले एड्भान्सस्वरुप ५ सय डलरसम्म प्राप्त गर्नसक्ने पेपलले जनाएको छ । तर यो सुविधा पेपलका क्रेडिट ग्राहकका हकमामात्र लागु हुनेछ ।
त्यस्तै एटीएनटी मोबाइल सेवाले शटडाउनका कारण प्रभावित ग्राहकहरुलाई बिलम्ब शुल्क नलिने भएको छ । भेराइजन, स्प्रीन्ट र टीमोबाइलले पनि यस्तै सुविधाको घोषणा गरेका छन् ।
डिसेम्बर २२ देखि जारी अमेरिकी सरकार शटडाउन शुक्रबार २८ औं दिनमा प्रवेश गरेको छ । सरकार शटडाउनका कारण झण्डै ८ लाख कर्मचारीहरु वेतलवी भएका छन् । औषतमा एकजना कर्मचारीले ५ हजार डलर नपाएको न्युयोर्क टाइम्सले प्रकाशित गरेको विश्लेषणमा जनाइएको छ ।
वेतलवी बनेका कामदारहरुले चन्दा संकलनका लागि गोफण्डमीमा १५ सय भन्दा धेरै अभियानहरु संचालन गरेका छन् । सरकार शटडाउनको २८ दिन पुगिसक्दापनि खुलाउनका लागि खासै उल्लेख्य पहल भएको छैन ।






